२०८१ कार्तिक २० , मंगलबार

छठ पर्व शुरु, आज नहाय खाय

Chhath

सुनाखरी न्युज/ जनकपुरधाम ।

छठ पर्व आजदेखि विधिवत सुरु भएको छ ।

सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूवर्क मनाइने  छठ पर्वको पहिलो दिन आज (मंगलबार) नहाय खाय मनाइँदै छ । आजको दिन ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् ।

 

पारिवारिक सुख-समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने यस पर्वको दोस्रो दिन बुधबार खरना परेको छ । बुधबार साँझ ब्रतालुले चामल, सक्खर र दूधबाट तयार गरिएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना विधि पूरा गर्नेछन् ।

तेस्रो दिन बिहीबार छठको मुख्य दिन सौझकारक रहेको छ । यो दिन दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलासय किनारमा अर्घ्य दिने परम्परा छ ।

 

अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत समापन हुनेछ । यस दिनलाई पारन भन्ने गरिन्छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी एवं विविध प्रकारको मिठाई तथा फलफुल आदि देव सूर्यलाई अर्घ्यको रुपमा चढाउने गरिन्छ ।

छठ पर्वमा विशेष गरी अर्घ्य दिन ब्रतालुले ४८ घण्टा अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ । यसकारण छठ पर्वलाई निष्ठाको कठोर साधना मानिन्छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन चढाइएको सामग्री प्रसादको रूपमा ग्रहण तथा वितरण गर्ने चलन छ । त्यस कारण यस पर्वलाई यसले सामाजिक सद्भाव र एकताको प्रतीक मानिन्छ ।