२०८१ माघ ३ , बिहिवार

आयोजनाको तयारी फास्ट ट्र्याकमा गरिने

sunakhari2502

सुनाखरी न्युज/ काठमाडौं ।

विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब रु ७२ अर्ब बराबरका पाँचवटा आयोजनाको तयारी ‘फास्ट ट्र्याक’मा गरिने भएको छ ।अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व–पश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो ।

यसैगरी तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ र पहुँच तथा उत्थानशिलताका लागि डिजिटल सेवा रुपान्तरणसम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्र्याकमा गर्ने निर्णय भएको छ । विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित हुने आयोजनाको सम्बन्धित मन्त्रालयले सरोकारवालासँग छलफल गरी पूर्व तयारी गर्नेछन्, भने आवशयकता अनुसार अर्थ मन्त्रालयले सहजीकरण गर्नेछ ।

बैठकले सन् २०२५ को फेब्रुअरीसम्ममा आयोजनासँग सम्बन्धित सबै विषयको टुङ्गो लगाइ पूर्व तयारीका काम सक्ने निर्णय भएको छ । तयारी पूरा भएपछि सन् २०२५ को मार्चमा बस्ने विश्व बैंकको बोर्ड बैठकमा ती आयोजनाका प्रस्ताव पेस गरिने योजना छ ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाको पूर्व तयारीमा विशेष ध्यान दिन र आयोजनाहरु स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकताका साथ लाग्न निर्देशन दिनुभयो ।

उहाँले नेपालले आफ्नो आवश्यकता अनुसार सहयोग लिने र अधिकतम प्रतिफल दिने ठाउँमा लगानी गर्ने बताउनुभयो ।बैठकमा अर्थ मन्त्रालय, भौतिक तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि र सम्बद्ध पदाधिकारीको उपस्थिति थियो ।  रासस