२०८१ माघ २ , बुधवार

भित्री सडकमा सवारी दुर्घटना धेरै

accident i

सुनाखरी न्युज/ काठमाडौं ।

जिल्लामा भएका दुर्घटनामध्ये भित्री सडकमा दुर्घटना भएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा भित्रि सडकमा मात्रै १०७ दुर्घटना भएका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार गतसाउनदेखि भएका एक सय ८७ दुर्घटनामध्ये सो सङ्ख्यामा भित्री सडकमा दुर्घटना भएका हुन । दुर्घटनामा संलग्न सवारी साधनमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । हालसम्म दुई सय ८८ सवारी साधन दुर्घटनामा परेकोमा एक सय ६३ मोटरसाइकल रहेको शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका भित्री सडकमा यसवर्ष भएका दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने एक सय ७१ घाइते भएका छन् । आर्थिक वर्ष २०७८÷८९ देखिको तथ्याङ्क हेर्दासमेत भित्रि सडक निकै जोखिमपूर्ण हुने गरेको छ । सो समयदेखि हालसम्म भएका एक हजार चार सय ६४ दुर्घटना भएका छन् । जसमा भित्रि सडकमा ५० प्रतिशत दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

भित्रि सडकमा सात सय ४० वटा सवारी दुर्घटना भएको र ती दुर्घटनामा परि एक सय ६५ जनाको ज्यान गएको छ । यस्तै एक हजार एकसय २९ जना घाइते भएका छन् । शर्माका अन्ुसार चालु आर्थिक वर्षमा पूर्व–पश्चिम राजमार्गमा ३५ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् ।यस्तै नारायणगढ–मुग्लिन सडक खण्डमा भएका २७ वटा दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने एक सय १८ जना घाइते भएका छन् । सहरी सडक खण्डमा भएका १३ वटा दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

यस्तै पृथ्वी राजमार्गमा भएका पाँच वटा दुर्घटनामा नौ जना घाइते भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । प्रमुख शर्माका अनुसार भित्रि सडकमा बिहानी हिँडाइ र रात्रिकालीन हिँडाइका क्रममा र मोटरसाइकल तीव्र गतिमा आउने हुँदा दुर्घटना बढी हुने गरेको हो । सडक फराकिलो हुनु, तीव्र गतिमा सवारी चलाउनु, सवारीको चाप बढ्नु लगायतका कारण दुर्घटना बढी भएको उहाँले बताउनुभयो । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनाका कार्यक्रम तीव्र पारिएको शर्माले बताउनुभयो । प्रमुख शर्माले भन्नुभयो “अन्य सडकको तुलनामा भित्रि सडकमा दुर्घटना बढी हुने गरेको छ । सबै क्षेत्रमा ट्राफिक प्रहरी पुगेको भए पनि दुर्घटना हुन नदिनका लागि सवारी चालक र यात्रुहरु सजग रहनुपर्ने उहाँको भनाइ छ ।  रासस