२०८१ पुष ८ , सोमवार

गोदावरीमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु

football-photo_1w0XsjwJrc

सुनाखरी न्युज/ काठमाडौं ।

गोदावरी नगरपालिका–१ गोदामचौरमा वडास्तरीय ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता सुरु भएको छ । ‘युवाका लागि खेलकुद, विकासका लागि खेलकुद’ भन्ने नाराका साथ यही कात्तिक २४ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर १ गतेसम्म सञ्चालन हुनेछ ।प्रतियोगिताको उद्घाटन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आयोजक र खेलाडीलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले यस्ता प्रतियोगिताले खेलाडीको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

नगरप्रमुख महर्जनले अनुशासित भएर खेल खेल्न आग्रह गर्दै अनुशासन जितभन्दा महत्वपूर्ण हुने धारणा राख्नुभयो । आगामी मङ्सिर १५ गतेदेखि नगर वडा फुटबल प्रतियोगिता सुरु हुने जानकारी दिँदै उहाँले खेलाडीको हित र खेलकुद पूर्वाधारको विकासमा नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उपप्रमुख मुना अधिकारीले आयोजक र प्रतियोगी टिमलाई शुभकामना दिँदै यहाँबाट राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । गोदावरी–१ का वडाध्यक्ष श्रीराज थापाका अनुसार प्रतियोगितामा नौ वटा वडाबाट ११ समूह प्रतिस्पर्धा गरिरहेका छन् ।

स्थानीय खेलाडीलाई प्रोत्साहित गर्दै उनीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई क्रमशः रु ५० हजार, रु २५ हजार, र रु १५ हजार पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै रु दुई लाखसम्मको उपचार बिमाको व्यवस्था गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।

आयोजक समितिका संयोजक सुमन आचार्यले प्रतियोगिताको पहिलो दिन तीन खेल भएका बताउनुभयो । पहिलो खेल ‘डि वाई सिए’ र गोजवेश्वर युथ क्लबबीच गोलरहित बराबरीमा समाप्त भएको थियो । दोस्रो खेलमा ‘डि वाई सिबी’ र फुलचोकी युथ क्लबबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा फुलचोकी क्लब १ गोलले पराजित भयो । तेस्रो खेलमा गोदामचौर युथ क्लबले नवोदय युथ क्लबलाई ३ गोलको फराकिलो अन्तरले पराजित गर्दै विजय हासिल गरेको आचार्यले जानकारी दिनुभयो ।  रासस