२०८१ मंसिर ९ , आइतवार

काठमाडौंमा पहिलोपटक गुञ्जियो कन्दरा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

शनिबार राति ठमेलको एलओडी क्लबमा सांगीतिक इतिहास लेखियो, जुन लेखिनैपर्ने थियो । ‘कन्दरा’ ब्याण्डका लागि यो सानदार पुनरागमन थियो । अनि, पहिलोपटक काठमाडौंमा ब्याण्ड गुञ्जिएको अभूतपूर्व क्षण । यो विश्वचर्चित क्लबमा आफ्ना प्रशंसकमाझ कन्दरा दुई घण्टा गुञ्जियो ।

राति १० बजेपछि भोकलिस्ट विवेक श्रेष्ठ ‘हेलो काठमाडौं’ भन्दै मञ्चमा देखिए । त्यसपछि सुरु भयो ‘कन्दरा’को सांगीतिक जादू । ‘तगारोमा रुमाल राखी’ गाउँदै उनले एकपछि अर्को हिट गीत पस्किए ।त्यसपछि गाए– लेककी हे माया, विदेशिएर गइन् उनी, चञ्चले कान्छीको, भेडी गोठैमा, हङकङ पोखरा, बिचरा म ।

दर्शकबाट ‘वान्स मोर’को तीव्र हुटिङपछि विवेकले कतिपय गीतलाई पुनः गाए ।आफ्ना हिट गीत मात्र हैन, पाका संगीतकर्मी रञ्जित गजमेर, लोकगायिका बीमाकुमारी दुरा लगायत सांगीतिक हस्तीलाई समर्पित गर्दै राष्ट्रिय भावनाले ओतप्रोत गीत पनि सुनायो कन्दराले । गितार र मादलजस्ता वाद्यबादनको प्रस्तुति यी संगीतका अग्रजप्रति समर्पित थियो ।

ब्याण्डले जनवरीदेखि वर्ल्ड टुर गर्दैछ । बेलायत र यूएईको दुबईदेखि विश्व यात्रा सुरु गर्ने कार्यक्रम छ । फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र जुलाईदेखि अगस्टसम्म युरोप भ्रमण तय भएको छ ।