सुनाखरी न्युज/ काठमाडौं ।
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालले विदेश जानुअघि नेपाली युवालाई निःशुल्क योग सिकाउने भएको छ । समाजले राजधानीमा आयोजना गरेको वृहत युवा भेलामा संस्थापक आचार्य राजन शर्माले विदेश जानुअघि नेपालीलाई निःशुल्क रुपमा दुई सयदेखि चार सय घण्टासम्म योग सिकाउन लागिएको जानकारी दिनुभएको हो ।
कार्यक्रममा योगगुरु डा हरिप्रसाद पोखरेलले योग भूमि एवं हिमालयको देश नेपालमा ऋषिमुनिले तपस्या गरेको उल्लेख गर्दै नेपालमा योग, ध्यान सिक्न विदेशबाट समेत वार्षिक हजारौँ मानिस आउने गरेको बताउनुभयो ।
सहप्राध्यापक श्रीराम सापकोटाले सुख र दुःख आफ्नै कारणले हुने विचार राख्नुभयो । पूर्वसचिव भीम उपाध्यायले यस्ता कार्यक्रमले युवालाई उत्प्रेरित गर्ने बताउनुभयो । कार्यक्रममा आचार्य शर्माका सुखसूत्र, योगदर्शन र प्राकृतिक चिकित्सा, आयुर्वेद अमृत दर्शन र विज्ञान भैरवतन्त्र गरी चार पुस्तक पनि विमोचन गरिएको थियो । रासस