२०८१ माघ २ , बुधवार

अर्थ समितिका काम प्रभावकारी बनाउन छलफल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका काम प्रभावकारी र नतिजामुखी ढङ्गले सञ्चालन गर्न छलफल भएको छ ।समितिको आजको बैठकमा कार्यसूची बनाउने र सदस्यहरुको सहभागिता बढाउने विषयमा छलफल भएको सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो । समितिमा विचाराधिन विधेयकलाई चाँडो टुङ्ग्याउने तथा समितिका अन्य काम कारबाहीलाई प्रभावकारी बनाउन सदस्यहरुको बैठकमा उपस्थिति बढाउनेबारे पनि छलफल भएको उहाँको भनाइ छ ।

“संसदीय समितिका बैठकहरुमा गणपूरक सङ्ख्या (कोरम) नपुग्ने समस्या छ । कोरम नपु¥याइ छलफल र निर्णयहरु गर्न नियमले मान्दैन”, आजको बैठकमा उहाँले भन्नुभयो, “सभामुखले पनि यस विषयमा चासो देखाउनु भएको छ । समितिका बैठक बोलाउँदा सबै दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई जानकारी गराउने र सदस्यहरुको उपस्थिति बढाउने विषयमा पनि छलफल भएको छ ।”

समितिको आजको बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्रीले समितिका काम प्रभावकारी बनाउन कार्यतालिका बनाएर कडाईका साथ लागू गरिनुपर्ने बताउनुभयो । समितिमा गणपूरक संख्या नपुगेर विधेयक माथिका छलफल प्रभावित हुन नहुने उहाँको भनाइ थियो ।त्यस्तै, सांसद जुली कुमारी महतो (महासेठ)ले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका सन्दर्भमा सम्बन्धित मन्त्रालयहरुलाई समितिमा बोलाएर जानकारी लिनुपर्ने बताउनुभयो ।

अर्थ समितिमा अहिले पाँचवटा विधेयक विचाराधिन छन् । ती विधेयकमाथि चाँडो छलफल गरेर टुङ्गाउनुपर्ने धारणा समितिका अधिकांश सदस्यहरुको मत छ ।चाडबाडहरु सकिएको र अहिले संसदको हिउँदे अधिवेशन समेत सुरु नभएको अवस्थामा समितिका गतिविधिहरु बढ्नुपर्ने विषय समितिमा उठेको थियो । त्यस्तै, आगामी मङ्सिर १६ गतेका लागि तय भएको उपनिर्वाचन अघि समितिका बैठक प्रभावित हुनसक्ने धारणा सांसदहरुको थियो ।  रासस