२०८१ माघ २ , बुधवार

आज देशभर शङ्खधर दिवस मनाइँदै

Capture
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाःको लोककल्याणकारी कार्यको संस्मरण गर्दै आज देशभर २५आँै शङ्खधर दिवस मनाइँदैछ ।
साख्वाःले देशका सम्पूर्ण जनताको क्रृणमोचन गरी लोककल्याणकारी कार्य गरेपछि देशकै नामबाट नेपाल संवत् चलाउनुभएको हो । तत्कालीन कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले यिनै ऐतिहासिक पुरुषको लोककल्याणकारी कामको सम्मान स्वरुप २०५६ मङ्सिर २ गते (११२० कछलाथ्व दशमी)का दिन साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । हरेक वर्ष कछलाथ्व दशमीको दिन देशभर नेवाः समुदायले शङ्खधर दिवसको रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी उहाँप्रति सम्मान अर्पण गर्दैआएको छ ।
शङ्खधर दिवसको अवसरमा न्हू दँ ११४५ राष्ट्रिय समारोह समितिको आव्हान र काठमाडौँ वडा नं १५, २७ र २८ का विभिन्न सङ्घ संस्थाद्वारा आज वडा नं १५ चागल, लखुतीर्थमा आयोजित समारोहमा शङ्खधरको अर्धकदको सालिकमा माल्र्यापण गरी सम्मान अर्पण गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले ऐतिहासक पुरुष शङ्खधरका बारेमा अध्ययन अनुसन्धान गरी नखुलेका तथ्यहरु बाहिर ल्याउन एक प्रतिष्ठान खडा गर्ने अभियानमा लाग्न सबैसँग आग्रह गर्नुभयो ।
समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले शङ्खधर कुनै काल्पनिक पात्र नभई इतिहास पुरुष हुन् भन्दै उहाँले जस्तै उदार हृदय लिएर सामाजिक न्यायका दिशामा अग्रसर हुन सकौं भनी शुभकामना दिनुभयो । कार्यक्रममा न्हूदँ राष्ट्रिय संरक्षण समाजका अध्यक्ष प्राडा नरेशमान बज्राचार्य, नेवा देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, अधिकारकर्मी मल्ल के सुन्दर, पूर्व मन्त्री भीमसेनदास प्रधानलगायत उपस्थित हुनुहुन्थ्यो । भद्रमति र विष्णुमति नदीको सङ्गम स्थल लखुतीर्थमा शुभसाइत पारेर शङ्खधरले निकाल्न लगाएको बालुवा सुनमा परिणत भएको र त्यसैबाट क्रृणमोचन गरिदिएको भन्ने जनविश्वास रहिआएको छ ।   रासस