२०८१ मंसिर ८ , शनिवार

एनवाईईएफ कनेक्ट शुभारम्भ देशका युवा उद्यमीलाई अवसर र प्रगतिसँग जोड्ने लक्ष्य

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ)ले कात्तिक २३ गते काठमाडौंमा ‘एनवाईईएफ कनेक्ट’ नामको प्लेटफर्म शुभारम्भ गरेको छ । सदस्यतामा आधारित यो प्लेटफर्मको उद्देश्य फरकफरक ४० क्षेत्रका सदस्यलगायत मञ्चका सदस्यहरुको विभिन्न समूह, पूर्वसदस्य (एनवाईईएफ अल्मुनाई) र पूर्वअध्यक्षहरुलाई एकै ठाउँमा ल्याएर नेपालका युवा उद्यमीमाझ सहकार्य र अवसर प्रवद्र्धन गर्नु हो ।

एनवाईईएफ कनेक्टको लक्ष्य स्रोत, सञ्जाल र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरी उद्यमीहरुलाई सशक्तीकरण गर्नु र दिगो प्रगति प्रवद्र्धन गर्ने खालको सहयोगी उद्यमशील इकोसिस्टमलाई बढावा दिनु हो । प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी रहेको ‘एनवाईईएफ कनेक्ट’ शुभारम्भ समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल विशेष अतिथिको रुपमा सहभागी थिए ।

समारोहको अध्यक्षता गरेका एनवाईईएफ कनेक्टका सभापति/पूर्वअध्यक्ष रितेश लामिछानेले युवा उद्यमीहरुको जोशिलो र परस्पर सम्बद्ध समुदायको महत्वमा जोड दिए । एनवाईईएफ कनेक्टका सदस्य, नेसनल गभर्निङ काउन्सिल (एनजीसी) सदस्य, मञ्चका च्याप्टर सभापतिलगायत ११० जनाको सहभागिताले शुभारम्भ कार्यक्रमलाई भव्य बनाएको थियो ।

एनवाईईएफ कनेक्ट आपसी सम्बन्ध विस्तार, अनुभव एवं विचार आदानप्रदान र प्रगति गर्ने क्षमता अभिवृद्धि गर्दै युवा उद्यमीका लागि एक रुपान्तरणकारी प्लेटफर्मको रुपमा रहेको छ ।यो प्लेटफर्म उद्यमीहरुलाई आपसी सम्बन्ध बढाउन, विचार एवं अनुभव आदानप्रदान गर्न, प्रतिभावानलाई अवसरसँग जोड्न र नेपालको अर्थतन्त्रमा दिगो विकास प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताए ।