सुनाखरी न्युज/ काठमाडौं ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०/८१ मा रु १८ करोड ६२ लाख ८१ हजार मूल्यबराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले उक्त तीनवटा जिल्लामा आफ्ना २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्री गरेको हो ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको तीन महिना अर्थात् साउन, भदौ र असोजमा रु पाँच करोड २३ लाख मूल्यबराबरको नुन बिक्री गरेको छ । सो अवधिमा ४५ हजार तीन सय ७० बोरा नुन बिक्री भएको हो । कार्यालयले दसैँतिहार तथा छठपर्वलाई लक्षित गरी सहुलियत दरको सुपथ मूल्य पसल सञ्चालन गरी नुन बिक्री गरेको जनाएको छ ।
गत असोज ७ गतेदेखि कात्तिक २९ गतेसम्म सञ्चालन हुने सोसहुलियतदरको पसलबाट हालसम्ममा पाँच हजार छ सय प्याकेट नुन बिक्री गरेर रु दुई लाख ६१ हजार कार्यालयलाई आम्दानी भएको प्रमुख शुभनारायण साहले बताउनुभयो । सहुलियत दरका सो पसलबाट रु २४ प्रतिप्याकेट तथा सोझै डिलरमार्फत रु २६ प्रतिप्याकेट नुन बिक्री भइरहेको बताइएको छ । यस्तै सो कार्यालयले रासायनिक मलको कारोबारसमेत गर्दै आएको प्रमुख साहले जानकारी दिनुभयो । रासस