२०८१ पुष २७ , शनिवार

१४ जनालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत २०७७ सालमा स्थापना गरेको पुरस्कार अन्तर्गत वर्ष २०८१ को स्रष्टा सम्मान पुरस्कार १४ जनालाई प्रदान गर्ने निर्णय गरेको छ । कात्र्तिक २८ गते सम्पन्न स्रष्टा सम्मान पुरस्कार छनौट समितिको बैठकले प्राप्त मनोनयनहरुमध्येबाट यो निर्णय गरेको हो । चाडै कार्यक्रम आयोजना गरि रु. २० हजार पुरस्कार राशीसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गरिने छ ।यस क्रममा प्राणीशास्त्री वैज्ञानिक एवं जेष्ठ नागरिक अधिकार केन्द्रीत विभिन्न पुस्तकका सर्जक प्रा.डा. मुकेशकुमार चालिसेलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, संस्कृतका प्रकाण्ड विद्वान प्रा.डा. ऋषिराम पोखरेललाई जोगमाया बराल स्रष्टा सौगात, नेपाल भाषाकी अग्रणी एवं अधिकारकर्मी प्रा. डा. चुन्दा बज्राचार्यलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, युद्ध विरोध र शान्तिको पक्षमा कलम चलाउने विवेक ओझालाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, लिम्बु भाषाको प्रवद्र्धनमा योगदान गर्ने लिला हाङ्मा सेलिङ्ग माबोलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान, साढे तीन दशक देखि अनवरत साहित्य साधनामा संलग्न बाबा बस्नेतलाई भूमिप्रसाद बराल स्रष्टा सौगात र बान्तावा भाषाका सुपरिचित हस्ताक्षर पदम राईलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी शान्ति समाजले प्रसिद्ध पुरातत्वविद एवं सामाजिक न्यायका सर्जक प्रकाश दर्नाललाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान, विगत ४ दशकदेखि साहित्य साधनामा संलग्न विवश पोखरेललाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, लोपोन्मुख एवं अल्पसंख्यक समुदायको पक्षमा कलम चलाउने सत्यदेवी खड्कालाई जनककुमारी रेग्मी स्रष्टा सौगात, नेपालीका अतिरिक्त अंग्रेजी साहित्यमा समेत कलम चलाउने गोपी सापकोटालाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात, भोजपुरी साहित्यमा योगदान गर्ने स्रष्टा पुजा बहारलाई राधादेवी दाहाल स्रष्टा सौगात, मैथिली साहित्यमा योगदान गर्ने विजेता कर्ण (चौधरी)लाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात र थारु साहित्यमा योगदान गर्ने भूमिका थारुलाई श्रीनारायण दाहाल स्रष्टा सौगात पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।पुरस्कृत हुनेहरुमा ७ जना महिला स्रष्टा हुनुहुन्छ भने ७ वटै प्रदेशको प्रतिनिधित्व रहेको छ । पुरस्कृत स्रष्टाहरुले मानव अधिकार, शान्ति, लोकतन्त्र, वातावरण र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त नेवारी, संस्कृत, मैथिली, भोजपुरी, थारु, बान्तावा र लिम्बु गरी ७ भाषामा विशेष योगदान गर्नुभएको छ भने अंग्रेजी भाषामा समेत उहाँहरुका कृति प्रकाशित छन् ।

पुरस्कृत स्रष्टाहरुबारेः
प्रा.डा. मुकेशकुमार चालिसेः वि.स.२०१३ सालमा ललितपुर जिल्ला हाल गोदावरी नगरपालिकाको चालीसे डाँडामा जन्मनुभएका स्रष्टा मुकेशकुमार चालिसेका नेपाली र अंग्रेजीमा गरि दर्जन बढी पुस्तक प्रकाशित छन् । त्यसमध्ये केही पुस्तक एमएस्सीमा पाठ्यपुस्तक समेत रहेको छ ।
प्राणीशास्त्र वैज्ञानिकको रुपमा सुपरिचित जीवविज्ञानका अनुसन्धाता चालिसे जनावरको व्यवहारमा विद्यावारिधी गर्ने पहिलो नेपाली हुनुहुन्छ जस्ले बाँदर प्रजाति अध्ययन तथा वन्यजन्तु संरक्षणमा विभिन्न पुस्तक लेख्नुभएको छ । रातो हाब्रे (पाण्डा), झारल, कस्तुरी र हिउचितुवामा अनुसन्धान गर्नुभएका चालिसेका बन्यजन्तु संरक्षण लगायत विज्ञान विषयमा पुस्तकहरु प्रकाशित छन् । चुरेको जैविक विविधता अनुसन्धानमा वन्यजन्तु विज्ञ र मिल्के जलजले गुँरास संरक्षण क्षेत्र स्थापनाका लागि अनुसन्धानमा वन्यजन्तु विज्ञका रुपमा कार्य गर्नुभएका चालिसेका विज्ञानका अतिरिक्त पाकाको रमाइलो र पिरलो, मानिला मान्छेका धामा, पाका मान्छेका कुरा, डाँडाका उज्याला जुन मैले छिचोलेका कुइनेटा गरि जेष्ठ नागरिकका सम्बन्धमा पनि पुस्तकहरु प्रकाशित छन् ।

प्रा.डा. ऋषिराम पोखरेलः विं स. २००० साउन २४ गते जन्मनुभएका काठमाण्डौ निवासी संस्कृत भाषाका प्रकाण्ड विद्वान प्रा.डा ऋषिराम पोखरेल वेदमा विधावारीधि गर्ने पहिलो नेपाली हुनुका साथै त्रिभुवन विश्वविद्यालय र संस्कृत विश्वविद्यालयको वेद विषयको पहिलो प्राध्यापक हुनुहुन्छ । पोखरेलको मनकामना लगायत ३ वटा पुस्तक संस्कृतमा प्रकाशित छ भने संस्कृतमा वेदानुशासनम र नेपालीमा वेदज्योति महाकाव्य प्रकाशोन्मुख अवस्थामा छ । यसैगरी शुक्लयजुर्वेदको नेपाली अनुवाद, मिमांसा परिभाषा रुपान्तर, युवा प्रति कविता संग्रह, धु्रव चरित्र खण्डकाव्य पोख्रेलका प्रकाशित कृतिहरु हुन ।

प्रा. डा. चुन्दा बज्राचार्यः २०१० साल माघ २३ गते काठमाण्डौमा जन्मनुभएकी इतिहासकार तथा संस्कृतिविद् प्रा.डा.चुन्दा बज्राचार्य नेपाल भाषा (नेवारी) क्षेत्रका एक अग्रणी स्रष्टा बज्राचार्य विद्यालय तहदेखिनै नेपाल भाषा लिएर त्रिभुवन विश्वविद्यालयबाट नेपाल भाषामा विद्यावारीधि गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । उहाँ निबन्धकार समालोचक अधिकारकर्मी हुनुका साथै आदिवासी जनजातीहरुको हक अधिकार सुनिश्चित गर्न योगदान गर्नुभएको छ । इतिहासको क्षेत्रमा अथक साधक, नेपाल भाषा र नेवारी संस्कृतिको उत्थान र विकासका लागि विभिन्नि विधामा अध्ययन अनुसन्धान गर्नुभएकी स्रष्टा बज्रचार्यका नेवारीमा मल्ल कालया छु संस्कृति, समालोचना च्वसुमुना, नेपाल भाषाया नाटक साहित्यया इतिहास, नेपाल मण्डल व नेवाः र नेपाली भाषामा गरी १६ वटा अन्वेषण कृतिहरु प्रकाशित छन् ।

विवेक ओझाः २०४८ जेठ २ गते अछामको दर्नामा जन्मनुभएका स्रष्टा विवेक ओझाका ऐठन उपन्यास, ऐलानी उपन्यास र एक पाइला आकाशमा गजल संग्रह प्रकाशित छन् । मानवतावादी, जीवनवादी दृष्टिकोणबाट युद्धको विरोध र शान्तिको पक्षमा कलम चलाउने स्रष्टा ओझा २०७९ सालमा मदन पुरस्कारबाट पृरस्कृत भइसक्नुभएको छ ।

लिला हाङ्मा सेलिङ्ग माबोः २०२८ वैशाख १२ गते पूर्वी लिम्वुवान याङरक ओयाम गाँउ पाँचथरमा जन्मनुभएकी सेलिङ्ग माबोले बेलायतको युनिर्भसिट अफ सरेबाट एमएस्सी गर्नुभएको छ । लिम्बु भाषाको प्रवद्र्धनमा योगदान गर्नुभएकी स्रष्टा माबोको याक्थुंग लिम्बु भाषामा सेमाङ्गलक् नामक कविता संग्रह प्रकाशित छ । सामाजिक न्याय, पहिचान र मुन्धुममा कलम चलाउने माबोले लिम्बु भाषामा गीत समेत लेख्नुभएको छ र उहाँको रचना आठ कक्षामा लिम्बु भाषा पाठ्यक्रममा समावेश छ । उहाँका लाहुरेनी पिडा नामक नेपालीमा कविता संग्रह र मेमोवाएर अफ अ गोर्खा वाइफ ड्युरीङ लकडाउन नामक पुस्तक अंग्रेजीमा समेत प्रकाशित छ ।

बाबा बस्नेतः २०२२ साल चैत २७ गते सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा जन्मनुभएकी स्रष्टा बाबा बस्नेतका धर्तीको सुसेली कवितासंग्रह, योद्धा पुर्णाङ्की नाटक, उन्यु फुलेपछि कथासंग्रह, रातकी रानी उपन्यास र सेतो फरिया खण्डकाव्य गरी १६ वटा कृति प्रकाशित छन् । स्रष्टा बस्नेत हाल नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य हुनुहुन्छ ।
पदम राईः २०३२ साल चैत ३ गते रानीबास भोजपुरमा जन्मनुभएका स्रष्टा पदम राई बान्तावा भाषाका सुपरिचित हस्ताक्षर हुनुहुन्छ । भाषा विज्ञानमा स्नातकोत्तर गर्नुभएका स्रष्टा राइका बान्तावा भाषामा वुङ्वाखाआ बान्तावा यङ खुयुङ् कथा संग्रह, लादिप्मा कविता संग्रह लगायत ६ वटा कृतिहरु प्रकाशित छन् । बुङ्वाखा मासिकको सम्पादक समेत रहनुभएका स्रष्टा राईको सम्पादनमा पारुहाङओ पुक्दुङ्लि लगायत दुई दर्जन किताब प्रकाशित छन् । यसैगरी राईको संयोजन, सहलेखन र सम्पादित आधा दर्जन बान्तावा सामग्रीहरु पाठ्यक्रममा समेत समावेश छ ।

प्रकाश दर्नालः २०१४ जेठ २६ गते कालधारा काठमाण्डौ जन्मनुभएका प्रसिद्ध पुरातत्वविद स्रष्टा प्रकाश दर्नालका हाम्रो सांस्कृतिक धरोहरहरु, नेपाल मण्डलका सांस्कृतिक सम्पदाहरु नामक पुस्तक प्रकाशित छन् भने बौद्ध सांस्कृतिक सम्पदाहरु र हेरिटेज एण्ड आर्कियोलोजी (अंग्रेजी) पुस्तक प्रकाशोन्मुख (प्रेसमा) छ । नेपाल हेरिटेज सोसाइटीको महासचिव र नेपाल इतिहास संघको सदस्य समेत रहनुभएका स्रष्टा दर्नालका संस्कृति, सामाजिक न्यायका विषयमा नेपालीमा ६ दर्जन र अंग्रेजीमा दुई दर्जन बढी लेख रचनाहरु प्रकाशित छन् ।

विवश पोखरेलः २०१५ भदौ २५ गते जन्मनुभएका विराटनगर निवासी स्रष्टा विवश पोखरेलका विगत ४ दशकदेखि साहित्य साधनामा संलग्न हुनुहुन्छ । पोखरेलका समयविम्व कथा संग्रह, अनिधो रात र बत्तिका पुतलीहरु, निषिद्ध बस्तीमा कविता संग्रह, साढेको दाइँ निबन्ध संग्रह गरि ९ वटा कृति प्रकाशित छन् । पोखरेल हाल विराटनगर प्रज्ञा प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ ।

सत्यदेवी खड्काः २०२४ साल असार १० गते दैलेखमा जन्मनुभएकी स्रष्टा सत्यदेवी खड्काका नेपालका लोपोन्मुख समुदाय, राउटे जातीको संक्षिप्त परिचय, राउटे समुदायको हस्तकला, बोटे जातिको पहिचान, राउटे समुदायको अनौपचारिक अर्थतन्त्र गरि ८ वटा पुस्तकहरु प्रकाशित छन् । राउटे, कुसुण्डा, कुस्वाडिया, बोटे, नेटुवा, किंगडियन जातीको बारेमा प्रकाश पार्दै दर्जनौ लेख रचना र पुस्तक लेख्ने स्रष्टा खड्काले नेपालका ७७ वटै जिल्लाको भ्रमण गर्नुभएको छ ।

गोपी सापकोटाः २०२९ भाद ६ गते जन्मनुभएका गैडाकोट नवलपुर निवासी (हाल बेलायत) स्रष्टा गोपी सापकोटाको एक अन्त्य एक शुरुवात कविता संग्रह, खरानी नाटक संग्रह, कमिलाको सपना बाल कथा संग्रह, काँचो कागज उपन्यास र अंग्रेजी कविता संग्रह अ सुसाइड नोट गरि १० वटा कृतिहरु प्रकाशित छन् । स्रष्टा सापकोटाले नेपाली राइटर्स इन इङ्लििस काठमाण्डौको सचिव भएर ८ वर्ष काम गरिसक्नुभएको छ ।

पुजा बहारः २०४३ असोज १९ गते जन्मनुभएकी दुहबी सुुनसरी निवासी स्रष्टा पुजा बहारको भोजपुरी भाषामा नेहिया के फुलवा र हिन्दीमा तीन वटा गरी ४ वटा कृति प्रकाशित छन् । स्रष्टा बहार नेपाल र भारतका विभिन्न पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।

विजेता कर्ण (चौधरी)ः २०३८ असोज २ गते जन्मनुभएकी जनकपुर धनुषा निवासी स्रष्टा विजेता कर्ण मैथिली भाषाको सुपरिचित हस्ताक्षर हुनुहुन्छ । पत्रकार कर्णका मैथिली भाषामा कर्फयु कथासंग्रह र धाराक विरुद्ध कविता संग्रह चुप्पी निशब्द एक पंक्ति कविता संग्रह प्रकाशित छ ।

भूमिका थारुः २०५७ असोज १३ गते जन्मनुभएकी लमही नगरपालिका ७ दाङ निवासी भूमिका थारुको कहियासम् अनागरिक? नामक थारु भाषामा कविता संग्रह प्रकाशित छ । मानवशास्त्र विभागमा स्नातकोत्तर अध्यनरत स्रष्टा थारु अधिकारका साथै साहित्यका विभिन्न विधामा कलम चलाउनुहुन्छ भने विभिन्न पत्रपत्रिकामा उहाँका लेखहरु प्रकाशित हुने गरेका छन् ।  रासस