२०८१ पुष २९ , सोमवार

स्वामीकात्तिक गाउँपालिकामा पाँच दलले टुङ्ग्याए उम्मेद्वार

Nirbachan_nirwachan_elecion

सुनाखरी न्युज/ काठमाडौँ ।

आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उप निर्वाचनका लागि यहाँका राजनीतिक दलहरुले उम्मेद्वारको टुङ्गो लगाएका छन् । स्वामीकात्तिक खापर गाउँपालिकामा हुने उपाध्यक्ष पदको निर्वाचनका लागि पाँच दलले उम्मेद्वारको टुङ्गो लगाएका हुन् ।विसं २०७९ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिकाकी उपाध्यक्ष मैनादेवी जोशीको विसं २०८० माघ ४ गते निधन भएको थियो । उक्त पदका लागि हुन लागेको उप निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा समाजवादी पार्टीले उम्मेदवार टुङ्गो लगाएका हुन् ।

नेपाली कांग्रेसले पुल्तीसरा शाही, नेकपा (एमाले)ले सुलोचना भण्डारी (बुढा), नेकपा (माओवादी केन्द्र)ले राजु विक, राप्रपाले सुनादेवी थापा (भोटे) र नेकपा समाजवादी पार्टीले जवा शाहीलाई उम्मेद्वार बनाएका हुन् । अघिल्लो निर्वाचनका बेला नेकपा समाजवादी र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो ।

उम्मेदवार घरदैलो अभियानमा
राजनीतिक दलले टुङ्गो लगाएका उम्मेदवारहरू जनतासँग भेटघाट तथा चुनावी अभियान लिएर घरदैलो कार्यक्रममा व्यस्त छन् । गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुने रणनीतिसहित दलका उम्मेदवार र नेता कार्यकर्ता मतदातासँग भेटघाटमा निस्किएका हुन् । उम्मेदवारले मतदातासँग शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायतका क्षेत्रमा विकास गर्ने चुनावी प्रतिबद्धता लिएर मत माग्न थालेका छन् ।

विरासत फर्काउने दाउमा एमाले
लगातार ३२ वर्षदेखि एकलौटी रुपमा नेतृत्व गर्दै आएको नेकपा (एमाले) २०७९ को स्थानीय तहको निर्वाचनमा पराजित भएपछि पुनः विरासत फर्काउने उद्देश्यका साथ जुटेको छ । नेकपा विभाजित भएपछि स्वामीकात्तिकमा विरासत गुमाएको एमालेले उपाध्यक्ष पद जित्ने रणनीति बनाएर अघि बढेको नेकपा एमालेका जिल्ला अध्यक्ष लालबहादुर ओलीले बताउनुभयो ।

विसं २०७४ मा नेपाली कांग्रेसलाई पराजित भएको थियो । विसं २०७९ मा कांग्रेसले जितेको हो । अघिल्लो निर्वाचनमा तीन वडा र अध्यक्ष उपाध्यक्षसहित बहुमत प्राप्त नेपाली कांग्रेस भने उपनिर्वाचनमा उपाध्यक्ष पद जोगाउने कसरतमा छ । उक्त गाउँपालिकामा सात हजार चार सय ६० मतदाता सङ्ख्या छन् ।  रासस