२०८१ पुष २७ , शनिवार

एक वर्षमा एक सय १७ लाई प्रसूति सेवा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालले एक वर्षको अवधिमा एक सय १७ जनालाई प्रसूति सेवा प्रदान गरेको छ । विसं २०८० मङ्सिर १ गतेदेखि २०८१ मङ्सिर १ गतेसम्म अस्पतालले एक सय १७ महिलालाई प्रसूति सेवा दिएको हो ।अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले अस्पतालले स्थानीय र आसपासका महिलालाई सुरक्षित प्रसूति सेवा प्रदान गरेको जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालबाट नौ सय ९३ जनाको आकस्मिक अवस्थाका बिरामीको उपचार गरिएको छ भने ३२ हजार नौ पटक प्रयोगशाला परीक्षण गरिएको छ ।

अस्पतालमा नौ सय ९१ बिरामीलाई भर्ना गरी उपचार गरिएको छ भने तीन हजार नौ जनालाई अल्ट्रासाउण्ड सेवा प्रदान गरिएको क्षेत्रीले बताउनुभयो । त्यस्तै एक्स–रे सेवा तीन हजार तीन सय ९१ जनालाई प्रदान गरिएको छ ।स्वास्थ्यचौकीका रुपमा रहेको आँबुखैरेनी स्वास्थ्यचौकीलाई विसं २०७९ मङ्सिर १ गते अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो । अस्पतालले अब छिट्टै शल्यक्रिया सेवा, दन्त सेवा, फिजियोथेरापी आवश्यक बिरामीको पुनःस्थापना र उपचार सेवा सुरु गर्न लागेको छ ।त्यसैगरी विशेषज्ञ चिकित्सकमार्फत थप सेवा, टेलिमेडिसिन तथा मोबाइल स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको डा क्षेत्रीले बताउनुभयो । “स्वास्थ्यचौकीबाट अस्पताल भएको दुई वर्षको अवधिसम्म अस्पतालले विभिन्न सेवा विस्तार गरिसकेको र केही सेवा थप गर्ने लक्ष्यमा पुगिएको छ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाले विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गरेको हो । अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।अस्पतालबाट चौबिसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ । अस्पतालमा एक जना एमडिजीपी, तीन जना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् ।

गाउँपालिकाले अस्पतालका लागि नयाँ भवन बनाएको होइन । भइरहेको भवनको उपयोग गरी अस्पताल सञ्चालन गरेको हो । गाउँपालिकाले वडा कार्यालय भवन, गाउँपालिकाको सभाहल उपयोग गरी अस्पताल बनाएको हो । गाउँपालिकाका अध्यक्ष चुमानले भन्नुभयो, “स्वास्थ्यचौकीलाई ओपिडी बनाएर सञ्चालन गरेका छौँ, इलाका वनको भवनलाई ल्याब बनाएका छौँ, त्यसमा फार्मेसी र शौचालयको पूर्वाधार थप गरेका छौँ ।”  रासस