२०८१ मंसिर ६ , बिहिवार

प्रतिजैविक औषधिको समुचित प्रयोग गर्न स्वास्थ्य, वन र कृषिमन्त्रीको आग्रह

Capture
सुनाखरी न्युज/ काठमाडौं ।
सरकार तीन मन्त्रीहरुले प्रतिजैविक औषधिको समुचित प्रयोग गर्न आग्रह गर्नुभएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी आज विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२४ का अवसरमा संयुक्त रुपमा शुभकामना सन्देश दिँदै  प्रतिजैविक औषधिको न्यूनीकरणका लागि सबैलाई आग्रह गर्नुभएको छ ।
उहाँहरुले प्रतिजैविक प्रतिरोधका विषयमा सबै तहमा सचेतना, जागरण तथा पैरबी गर्न आवश्यक रहेको समेत बताउनुभएको छ । यस वर्ष प्रतिजैविक प्रतिरोधसम्बन्धी विश्वस्तरीय दुई ठूला उच्चस्तरीय बैठकहरु ७९औँ संयुक्त राष्ट्रसङ्घ महासभा र ७७औँ विश्व स्वास्थ्य सभामा नेपाल सरकारले जनाएको प्रतिबद्धता तथा विश्वव्यापी रुपमा सहमत लक्ष्यहरुको जवाफदेहिता तथा कार्यान्वयन महत्वपूर्ण अवसर भएकाले पनि यस वर्षको सचेतना सप्ताह विशेष रहेको उहाँहरुको सन्देशमा भनिएको छ ।
सन्देशमा उहाँहरुले नेपालजस्तो सङ्क्रामक रोगहरुको भार धेरै भएको विकासोन्मुख देशमा मानिस, पशुपक्षी र बोटबिरुवाका सङ्क्रामक तथा सरुवा रोगको उपचारमा प्रतिजैविक औषधिको मुख्य भूमिका रहेको भन्दै विश्वव्यापी रुपमा वृद्धि भइरहेको प्रतिजैविक प्रतिरोधका कारण बहुमूल्य प्रतिजैविक औषधिको क्षमता घट्न गई सङ्क्रामक रोगको प्रभावकारी उपचारमा चुनौती थपिएको बताउनु भएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रतिजैविक प्रतिरोधका कारणले अहिले विश्वभरि करिब १२ लाख मानिसहरुको मुत्यु भइरहेको छ । सन् २०५० सम्ममा वर्षमा करिब ५० लाख मानिसको मृत्यु हुने आकलन गरिएको छ र सन् २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलरसम्मको आर्थिक भार थपिने आकलन गरिएको छ । यसबाट सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा बाधा पुग्न सक्ने देखिन्छ ।
“यसरी बढिरहेको प्रतिजैविक प्रतिरोधको समस्या मानव स्वास्थ्य मात्र नभई अन्योन्याश्रित अन्तरसम्बन्ध रहेका पशुपक्षी तथा वातावरणीय स्वास्थ्यलाई समेत प्रत्यक्ष असर पारेको छ । त्यसैले यस समस्यासँग जुध्न एक स्वास्थ्य रणनीति २०७६ अनुसार अगाडि बढ्न आवश्यक छ,” उहाँहरुको सन्देशमा भनिएको छ,  “एन्टिबायोटिक लगायतका औषधिहरुको जिम्मेवारपूर्ण प्रयोगलाई प्रवद्र्धन गर्दै सङ्क्रमण रोकथाममा सुधार गर्न, प्रतिजैविक प्रतिरोधको निगरानीलाई निरन्तरता दिन तथा वैकल्पिक उपचार र रोकथामका उपायहरुको अनुसन्धान गर्ने कार्यलाई कार्यान्वयन गर्नुपर्दछ ।”
सन्देशमा सरकारले एक स्वास्थ्य रणनीतिअनुरुप बहुपक्षीय संलग्नतामा प्रतिजैविक प्रतिरोध न्यूनीकरणका लागि राष्ट्रिय कार्ययोजना विधिवत् रुपमा स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको उल्लेख गर्दै उच्चस्तरीय प्रतिबद्धताका साथ ल्याइएको यो कार्ययोजनाले एक स्वास्थ्य क्षेत्रका सरोकारवाला बीचको सहकार्यमा प्रतिजैविक प्रतिरोध न्यूनीकरणमा तथा दिगो विकास लक्ष्य हासिल गर्नमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । आजदेखि मङ्सिर ९ गतेसम्म ‘प्रतिजैविक प्रतिरोधः बुझाँै, बुझाऔँ, आजैबाट रोकथाममा जुटौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरिन नेपालमा पनि मनाइँदै छ ।  रासस