२०८१ मंसिर ६ , बिहिवार

उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन

Election Cpmiossion

सुनाखरी न्युज/ काठमाडौं ।
आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्वाचन आयोगले  गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकले स्थानीय तह उपनिर्वाचन सुरक्षा योजनाको कार्यान्वयन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको हो ।

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिएको छ । मतदानकार्य सम्पन्न भएपश्चात् सोही दिन मतपत्रसहितका मतपेटिका सुरक्षित तवरले मतगणनास्थलसम्म ढुवानी र आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

उपनिर्वाचन प्रचारप्रसार निषेध अवधिमा आचारसंहिताको पूर्णपालना गर्नरगराउन, आचारसंहिता पालना भएरनभएको अनुमगन गर्न र निषेधित कार्य भएरगरेको पाइएमा तत्काल कारबाही गर्न पनि आयोगले आग्रह गरेको छ ।

यही मङ्सिर ५ देखि मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण र सम्बन्धित स्थानीय तहसँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनको आवागमनको उपयुक्त व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ ।