२०८१ पुष २८ , आइतवार

रुसविरुद्ध लामो दूरीका अमेरिकी हतियार प्रयोग गर्न युक्रेनलाई अनुमति

ukrine

सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकाले युक्रेनलाई दिएका लामो दूरीका क्षेप्यास्त्र रुसमा प्रहार गर्ने अनुमति अमेरिकी राष्ट्रपति जो बाइडनले  दिएका छन् । अन्तर्रास्ट्रिय सञ्चार माध्यमहरूकाअनुसार बाइडेन प्रशासनले युक्रेनलाई आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) प्रयोग गर्न युक्रेनलाई अनुमति दिएको हो ।

करिब ३ सय किलोमिटरको दूरीमा मार हान्न सक्ने एटीएसीएमएस अमेरिकामा निर्मित क्षेप्यास्त्र हो । त्यस्तै अमेरिकाले युक्रेनलाई लकहीड मार्टिन बलिस्टिक क्षेप्यास्त्र पनि उपलब्ध गराएको छ । युक्रेनले यस्ता क्षेप्यास्त्रको प्रयोगका लागि अनुमति नदिनु हात बाँधेर युद्ध लड्न पठाउनु जस्तो भएको बताउँदै आएको थियो ।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले भने बाइडेन प्रशासनको नयाँ निर्णयले आगोमा घ्यू थपेको जनाएको छ । क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी निर्णयले पूर्ण तनाव निम्त्याउने र अमेरिकी संलग्नताको सन्दर्भमा नयाँ अवस्था सिर्जना भएको बताएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति बाइडेनले युद्ध चर्कन सक्ने भन्दै त्यस्ता अस्त्र प्रयोगको अनुमति दिन अस्विकार गरेको थियो । तर सत्तामा रहने समय करिब दुई महिना मात्र बाँकी रहेको अवस्थामा बाइडेनले आफ्नो पूर्ववत् नीति उल्ट्याउँदै हतियार प्रयोगको अनुमति दिएका हुन् ।

केहि दिनअघि उत्तर कोरियाली सैनिकहरू रुसी फौजलाई सघाउन कुर्स्क क्षेत्रमा पुगेको विवरण सार्वजिनक भएसँगै बाइडेन प्रशासनले आफ्नो नीति परिवर्तन गरेको बीबीसीले जनाएको छ । अमेरिकाले लामो दूरीका अस्त्र प्रयोगको अनुमति दिएसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले क्षेप्यास्त्र आँफैले बोल्ने बताएका छन् ।

 

अमेरिकी अनुमतिसँगै युक्रेनले लामो दूरीका हतियार रुसी भूभागभित्र पनि प्रहार गर्न पाएको छ । युक्रेनी सेनाले पहिलो चरणमा आफ्नो नियन्त्रणमा राखेको रुसको एक हजार वर्गकिलोमिटर क्षेत्रनजिकै ती क्षेप्यास्त्रहरू प्रयोग हुने आकलन गरिएको छ ।