सुनाखरी न्युज/ काठमाडौं ।
आइफोनद्वारा खिचिएको नेपाली चलचित्र ‘अ प्लेस अण्डर द सन’को ट्रेलर चलचित्र ओटीटी प्लेटफर्मबाट सार्वजनिक गरिएको छ । चलचित्र अमेजन प्राइम भिडियोमा हेर्न मिल्ने गरी राखिएको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रको ट्रेलर भने ओएसआर डिजिटलमा हेर्न सकिने बताइएको छ ।चलचित्रका लेखक तथा निर्देशक जेसन लोप्चनले चलचित्र आइफोनबाट खिचिएको भएपनि गुणस्तरमा दोष लगाउने ठाउँ नभएको दाबी गरे। ‘विश्वमा धेरै बहुचर्चित फिल्म मोबाइल डिभाइसबाट खिँचिएका छन्, हामीले नेपालमा त्यही प्रविधिको प्रयोग ल्याउन खोजेका छौं,’ उनले भने, ‘चलचित्रलाई विश्वभर हेर्न मिल्ने गरी ओटीटी प्लेटफर्म अमेजन प्राइममा राखेका छौं, अब हाम्रा प्रिय दर्शकले घरमै बसेर फिल्म हेरी मनोरञ्जन लिन सक्नुहुनेछ ।’
चलचित्रको केही महिना अगाडि प्रिमियर शो समेत गरिएको थियो । सो अवसरमा चलचित्र निर्देशक उपेन्द्र सुब्बा, शैलेन्द्र डि. कार्की, सचिन घिमिरे, गायक यशकुमार, कलाकार प्रविन खतिवडा, अभय बराल, जीवन शाक्य लगायतले चलचित्रको गरिएको प्रयोग र कथाको तारिफ गरेका थिए ।निर्देशक लोप्चनले चलचित्रमा देखिने लोभलाग्दा दृष्य र रोमाञ्चक विषयवस्तुले दर्शकलाई भरपुर मनोरञ्जन दिने बताए । ‘चलचित्रमा अभिनयमा अनुभव मात्र नभएर एकेडेमिक नलेज समेत भएको टिम छ, अभिनय बुझेको टिमले गरेको प्रोजेक्टले दर्शकलाई निरास बनाउने भन्ने रहन्न, ’ उनले भने, ‘फिल्मलाई हामीले हरेक दृष्टिबाट फरक बनाउने प्रयत्न गरेका छौं ।’
वान स्कायड फिल्मले उत्पादन गरेको चलचित्रको निर्देशकमा लोप्चन, को–प्रोड्योसरमा उमेश खड्का, चलचित्रको छायाँकारमा प्रविन लिम्बु र प्रज्वल खड्का ध्वनि संयोजनमा छन्। चलचित्रमा मिन घलान, मीरा गुरुङ, अंशु शर्मा, प्रजन पौडेल, विप्लव गौली, सन्तोष मिजार, प्रवेश एमसी, रिदेश श्रेष्ठ लगायतको अभिनय छ।चलचित्रमा तीनजना बाल्यकालदेखि मिल्ने साथीहरूको पुर्नमिलनका क्रममा अर्का एकजना अपरिचित साथीको प्रवेश गरेसँग उत्पन्न परिस्थितिमा आधारित रहेको बताइएको छ । निर्देशक लोप्चनले भने, ‘कथा धेरै मिठो छ, यसको लागि फिल्म हेर्नैपर्छ ।’