२०८१ पुष २८ , आइतवार

मतदातासँग सघन भेटघाटमा उम्मेदवार

niribachan

सुनाखरी न्युज/ काठमाडौं ।

अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिन्हसमेत पाएपछि महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को स्थानीयतह उपनिर्वाचनका उम्मेदवार मतदातासँग सघन भेटघाटमा छन् । जिल्लामा एउटा मात्र वडामा भइरहेको उपनिर्वाचनमा अहिले रामगोपालपुर–२ का घरघरमा उम्मेदवार र समर्थकहरू पुग्न थालेका हुन् ।निर्वाचन आयोगले बुधबार मनोनयन फिर्ता लिएर बाँकीलाई निर्वाचन चिन्ह प्रदान गरेपछि उम्मेदवारको मतदातासँगको भेटघाट बाक्लिएको हो । रामगोपालपुर–२ मा हुने उपनिर्वाचनअन्तर्गत चुनावी मैदानमा सात दलका र ११ स्वतन्त्रसहित १८ जना उम्मेदवार छन् ।

बीस जनाले उम्मेदवार हुन मनोनयनपत्र दर्ता गराएका थिए । हिजो बुधबार जनमत पार्टीका ललिन्द्रकुमार साह र स्वतन्त्र विमलेन्द्रकुमार यादवले मनोनयन फिर्ता लिएपछि चुनावी मैदानमा १८ जना उम्मेदवार छन् । सबै उम्मेदवार एकपछि अर्को गर्दै घरघरमा मतदातासँग भेट्ने क्रम बढ्ेसँगै यहाँका मोहनपुर, टेङर र बसबिट्टी बस्तीमा अहिले चुनावी वातावरण तातेको छ ।चुनावी मैदानमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्रमशः मोहम्मद जनिफ खाँ, सकिबुल खाँ, आइतीकुमारी यादव र खुरसेद खाँ उम्मेदवार हुनुहुन्छ । यसैगरी जसपा नेपाल, राप्रपा र राष्ट्रिय जनता पार्टीबाट क्रमशः मोहम्मद नजामुद्दिन खाँ, मोहम्मद मनान खाँ र राजेशकुमार यादव प्रतिस्पर्धामा हुनुहुन्छ ।

यी बाहेक ११ जना स्वतन्त्र उमेदवारमा विजयकुमार सिंह, रामऔतार यादव, राजदेव यादव, राकेशकुमार यादव, मोहम्मद इमामुद्दिन खाँ, मोहम्मद अरमान रजा खाँ, मुकेश्वर ठाकुर, नजामुद्दिन खान, धीरेन्द्रप्रसाद यादव, गङ्गाप्रसाद यादव र अशोककुमार यादव हुनुहुन्छ ।यसअघि विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष मुकेशकुमार यादवको दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । यही मङ्सिर १६ गते हुने मतदान तालिकाको निर्वाचनमा दल र स्वतन्त्र उम्मेदवारी दिनुभएका सबै आ–आफ्नो जितको दाबी गर्दै हुनुहुन्छ । जिल्लाभरिमा एक ठाउँमात्र हुन लागेको उपनिर्वाचनमा सबैजसो दलका केन्द्रदेखि जिल्ला र नगरतहसम्मका नेता, कार्यकर्ता अहिले रामगोपालपुर–२ केन्द्रित हुनुहुन्छ ।

यस वडामा यसपालि मतदान गर्न पाउने दुई हजार एक सय ४१ मतदाता रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालय रामगोपालपुर–२ ले जनाएको छ । जसमा एक हजार दुई सय एक पुरुष र नौ सय ४० महिला मतदाता रहेका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिनुभयो ।उपनिर्वाचन कार्य सम्पन्न गर्न आवश्यक जनशक्ति, सुरक्षा प्रबन्ध र अन्य आवश्यक सामग्री तयारी अवस्थामा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आममतदातालाई निर्भय भई मतदानमा सहभागी हुन कार्यालयले आग्रह गरेको छ ।रासस