२०८१ पुष २८ , आइतवार

राजदूतदेखि युवा परिषद्को उपाध्यक्षसम्म बनेका यी किशोरी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बर्दियाकी सीमा अहिले उमेरले १६ वर्षकी भइन् । किशोरवयमै आफूले असाधारण अवसर पाएको अनुभूति उनमा छ । कारण, केही दिनअघिमात्र एक दिनको लागि ब्रिटिस एम्बास्डरको भूमिकामा रहने मौका उनले पाइन् ।सीमा भन्छिन्, ‘मैले ब्रिटिस एम्बास्डरको रूपमा भूमिका निर्वाह गर्ने मौका पाएँ । सुरुमा त्यहाँ ९दूतावास० छिर्दै फरक अनुभव गरेको थिएँ । पछि काम–कारबाहीबारे बुझेपछि झनै रोचक लाग्यो । थप जिज्ञासा बढेको छ ।’सीमाका जिज्ञासामा एउटा राजदूतावास कसरी क्रियाशील रहन्छ, यसबाट किशोरीहरूको लागि कसरी काम गर्न सकिन्छ, देश–देशको सम्बन्ध व्यवस्थापन आफैँमा कति चुनौतीपूर्ण छन् भन्नेजस्ता विषय छन् । यी विषयबारे यति सानै उमेरमै चासो दिने अवस्थामा पुग्नुलाई नै असाधारणा अवसर पाएको भन्ने बुझाइ उनमा छ ।

सुरुमा त जब सीमा ब्रिटिस एम्बेसीमा प्रवेश गरिन्, त्यहाँ एकदमै सफा र बालमैत्री वातावरण पाइन् । एम्बेसीभित्र बालबालिकाका लागि खेल्ने ठाउँ र सामग्रीहरू पर्याप्त मात्रामा उपलब्ध गराइएको थियो । ‘हामी गएर हेर्दा एम्बेसी हरियाली थियो । त्यहाँ एम्बास्डरको क्वार्टर पनि थियो । महत्त्वपूर्ण कुरा त, त्यहाँ नेपाली परम्पराअनुसार फूलहरूको रंगोली बनाइएको दृश्यले खुसी बनायो,’ उनले भनिन् ।यसरी दूतावासभित्रका दृश्यमा मनोरञ्जन लिँदालिँदै सीमा र एम्बास्डरबीच भेट गर्ने समय हुन्छ । एम्बास्डरले आफ्नो काम र कर्तव्यबारे ब्रिफिङ गर्छन् । कार्यालयमा रहेका अन्य कर्मचारी र अभियन्तासँग भेट गराउँछन् । एकअर्काबीच परिचय गर्ने र सम्बन्ध विस्तार गर्ने एउटा माहौल नै बन्छ । उनले राजदूतको पद टेकओभर गर्ने समय हुन्छ ।तत्कालका लागि पद आफूले लिएपछि सीमाले त्यहाँभित्रका गतिविधिबारे बुझ्ने प्रयत्न गर्छिन् । सो भूमिकामा सक्रिय रहेको देखाउन खोजिन् । यसरी पद टेकओभर गरेपछि नयाँ परिचय बनेका साथीहरूले पनि तारिफ गरेको र कामलाई बढवा दिएको उनले सुनाइन्, जसबाट अझै यस्ता कर्ममा लाग्ने प्रेरणा मिलेको उनको भनाइ छ ।

‘गर्ल्स टेकओभरको कार्यक्रम सकिने बेलामा एम्बास्डरले मैले उठाएका कुराहरूमा ध्यानाकर्षण भएको पनि जनाउनुभयो । साथै, किशोरीका लागि काम गर्ने बताउनुभयो । यो अवसरबाट अब ममा आत्मविश्वास बढेर आएको छ । आफूले नै निर्णय लिएर अगाडि बढ्ने मनोबल बढेको छ,’ सीमाले भनिन् ।त्यस्तै, अर्की छिन्, दीपशिखा । उनले गत मंगलबार राष्ट्रिय युवा परिषदको उपाध्यक्ष पद टेक ओभर गरेकी हुन् । सीमाको झैँ पद हस्तान्तरण गरेपछि त्यहाँको वास्तविक उपाध्यक्षसँग परिचय गरिन् । उपाध्यक्षको काम र कर्तव्यबारे बुझिन् । नियमित प्रक्रियाअनुसार शपथग्रहण गरिन्, जसले साँच्चै उपाध्यक्षको रूपमा आफू कार्यरत रहेको महसुस गर्न पाएको उनको अनुभव छ ।

यसरी एकदिने उपाध्यक्षको रूपमा टेकओभर गरेपछि दीपशिखा अन्य किशोरीसँग युवा तथा खेलकुद मन्त्रालय फर्किइन् । मन्त्रीसँग भेट गरिन् । किशोरीहरूले मिलेर बनाएको घोषणापत्र मन्त्रीलाई बुझाइन् । मन्त्रीले पनि भेटमा ‘उपाध्यक्ष आउनुभयो’ भनेर ठट्टा गर्दा आफूलाई खुसी मिलेको उनी सुनाउँछिन् ।यसरी मन्त्रालयसम्म पुग्दा त्यहाँ किशोरी महिलाहरूका लागि पनि विभिन्न खाले कार्यक्रम छन् भन्ने उनले थाहा पाइन् । साथै, व्यवसाय गर्नका लागि पनि किशोरीकेन्द्रित बजेट छुट्याएको देखेपछि आफूले पनि सो क्षेत्रमा केही गर्न सक्ने हौसला मिलेको अनुभव उनको छ ।

सोही दिन ललिताले पनि नर्वेजियन एम्बास्डरको पद टेक ओभर गरिन् । उनी त्यहाँ टेक ओभरका लागि पुग्दा एम्बास्डरले खुसी भएर स्वागत गरे । दूतावास जानुपूर्व भने उनमा अलि फरक धारणा थियो । त्यहाँ दुई देशबीचको सम्बन्धमा मात्र काम गर्ने होला भन्ने सतही बुझाइ थियो । तर, राजदूतावास छिरेपछि बालबालिका, किशोरकिशोरी, महिला, युवालगायत जलवायु परिवर्तन, स्वास्थ्य, शिक्षाजस्ता विविध क्षेत्रमा काम गरिरहेको उनले थाहा पाइन् । एकदिने एम्बास्डरको रूपमा काम गरेको अनुभव पनि लिइन् ।

त्यसपछि ललिता एम्बास्डरसँग युनिसेफको कार्यालयमा पुगिन् । नर्वेले नेपालका साझेदार संघसंस्थासँग मिलेर कसरी काम गर्छ भन्ने जान्न पनि यो एउटा महत्त्वपूर्ण भेट थियो । युनिसेफका टिमले पनि एकदिने राजदूत ललितालाई बालबालिकाका लागि विपद्‌को बेला हुने कार्यक्रमबारे जानकारी दिए । साथै, नर्वेजियन एम्बेसीले युनिसेफ र यूएनका एजेन्सीसँग मिलेर काम गर्न सक्ने कुरा थाहा पाइन् । युनिसेफले सरकार र नर्वेजियन एम्बेसीजस्ता अन्य निकायहरूसँग मिलेर काम गर्ने भएकाले यसले विद्यालयबाहिर रहेका बालबालिकालाई कसरी शिक्षासँग जोड्ने काम गरिरहेको छ भनेर हेर्ने मौका मिलेको उनको भनाइ छ ।

युनिसेफमा बुझ्नेरबुझाउने काम सकेर ललिता कोसिस भन्ने संस्थामा जाँदा त्यहाँ भने उनलाई नयाँ कुरा सिक्ने मौका मिल्यो । सो संस्थामा टिनएजरमा हुने संवेदना र भावनाका कारण आउन सक्ने मानसिक अवस्थालाई कसरी सम्हाल्ने भन्ने कुराबारे काम भइरहेको थाहा भयो । ‘यो सबैबाट सबै किशोरीले आफू के हुँ र कसरी काम गर्छु भनेर ख्याल गर्न आवश्यक रहेछ भन्ने थाहा पाएँ । पछि गएर महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने अठोट लिएकी छु । सँगसँगै हामीले अधिकारको कुरा गरिरहँदा आफ्नो कर्तव्य पनि भूल्न नहुने कुरा सिकेँ,’ उनले सँग भनिन् ।यसरी प्लान इन्टरनेसनलले ‘गर्ल्स टेकओभर’ अर्थात् बालिका तथा किशोरीलाई पद हस्तान्तरण कार्यक्रम गरेको यो पहिलोपटक भने होइन । यसअघि पनि संघीयस्तरका संघसंस्थाहरू, सरकारी निकाय, मिडिया, दूतावास, शैक्षिक संस्थालगायतका संस्थाहरूमा प्रमुखको कार्यभार एक दिनका लागि किशोरीलाई हस्तान्तरण गरिने गरेको थियो । र, यस वर्ष पनि अन्तर्राष्ट्रिय बालिका दिवस, अक्टोबर ११ को अवसरमा प्लान इन्टरनेसनलले उक्त कार्यक्रम सुरु गरेको हो ।

‘किशोरीहरूले पनि अवसर पाउनुपर्छ । अब नेतृत्वमा बसेकाले कसरी काम गर्नुपर्छ । दायित्व के हुन्छ भनेर बुझ्नुपर्छ भनेर हामीले यो कार्यक्रम सुरु गरेका हौँ,’ प्लान इन्टरनेसनल नेपालकी कम्युनिकेसन म्यानेजर सिर्जना वज्रचार्यले भनिन्, ‘हामीले किशोरीहरूलाई लिएर अहिले टेक ओभर कार्यक्रम गरिरहेका छौँ । यो उमेरसमूहका विद्यार्थीलाई पछि के बन्ने, के गर्ने भन्नेजस्ता अन्योल हुन सक्छन् । त्यसैले हामी राजदूत पनि बन्न सक्ने रहेछौँ, कुनै कम्पनीको सीईओ पनि बन्न सक्छौँ भन्नेजस्ता आत्मविश्वास दिलाउने काम यसले गर्छ ।’

सबैभन्दा महत्त्वपूर्णचाहिँ यस वर्ष विपत्तिको समयमा किशोरीमाथि हुने व्यवहारलाई लिएर प्लानले गर्ल्स टेकओभर गराउने योजना बनाएको हो । केही समयअघि मात्र बाढीपहिरोजस्ता विपत्तिको सिकारमा नेपाल परेको थियो । सोही कारण यस वर्ष प्राकृतिक विपत्तिको समयमा किशोरीमाथि के कस्ता समस्या आईपर्न सक्छन् भनेर प्लानमा सक्रिय किशोरीहरूले रिसर्चसमेत गरेको वज्रचार्यले बताइन् । र, त्यसकै आधारमा रहेर गर्ल्स टेकओभर कार्यक्रमको प्राथमिकता छुट्याइएको उनको भनाइ छ ।वज्रचार्यका अनुसार जुम्ला, कालीकोट, बर्दिया, धनुषा र सिन्धुलीबाट जम्मा ३० जना किशोरी यस अभियानमा जोडिएका छन् । उनीहरूसँगको समन्वयमा ‘गर्ल्स मेनिफेस्टो’ बनाएर गर्ल्स टेकओभर इभेन्टमा प्रस्तुत गर्ने तयारी गरेका हुन् । र, यस वर्ष करिब ५० वटाभन्दा धेरै गर्ल्स टेकओभर गराउने योजना प्लान इन्टरनेसनलको छ ।