२०८१ पुष २८ , आइतवार

ईभी गाडीको आयात उच्च, चार महिनामा भित्रियो ३५ सय ईभी

ev tata

सुनाखरी न्युज/ काठमाडौं ।

विद्युतीय गाडी (ईभी)  चालु आर्थिक वर्ष पहिलो चार महिनामा ३ हजार ४ सय ८७ युनिट आयात भएको छ ।

भसार विभागले शुक्रबार प्रकाशित वैदेशिक व्यापारको तथ्यांकमा चार महिनामा ईभी आयात ७ सय युनिट बढेको छ । कुल ८ अर्ब ३७ करोड ९ लाख ५२ हजार रुपैयाँ बराबरका ३ हजार ४ सय ८७ युनिट ईभी आयात हुँदा ५ अर्ब १९ करोड २० लाख ७७ हजार राजस्व प्राप्त भएको छ ।

 

गत आव २०८०-८१ को पहिला चार महिनामा भने ३ हजार ७ सय ८७ युनिट ईभी आयात भएको भन्सार विभागको तथ्यांक छ । सरकारले १५ जेठमा ल्याएको चालु आवको बजेट र आर्थिक विधेयकमार्फत ईभीमा लाग्दै आएको करको दर बढाएको थियो ।

शून्य किलोवाट र ५१ देखि १०० किलोवाट क्षमतामा भन्सार र अन्तःशुल्क ५-५ प्रतिशतले बढाएको थियो । १०१ देखि २०० किलोवाटसम्म भन्सार यथावत् राखेर अन्तःशुल्क १० प्रतिशत बढाएको थियो । त्यसभन्दा माथि २०१ देखि ३०० किलोवाटसम्म भन्सार घटाएर अन्तःशुल्क बढाएको छ । ३०० किलोवाटभन्दा बढी क्षमतामा पनि भन्सार घटाएर अन्तःशुल्क बढाएको हो ।

 

ईभीको कर बढ्दै जाँदा पनि सर्वसाधारणमा यस्ता गाडीप्रतिको आकर्षण झनै बढ्दै गएको देखिन्छ । नेपाली बजारमा विशेषगरी चिनियाँ ब्रान्ड बीवाईडी र भारतीय ब्रान्ड टाटाको तीव्र प्रतिस्पर्धा छ ।

चार महिनासम्म ३ हजार ४ सय ८७ युनिट ईभी आयात हुँदा कात्तिकमा ९ सय ६९ युनिट आयात भएको छ । असोजमा ९ सय १६, भदौ १ हजार २ सय २१ र साउनमा ३ सय ८१ युनिट ईभी आयात भएको भन्सार विभागको तथ्यांक छ ।

कर बढ्नुअघि वैशाख र जेठमा धेरै संख्यामा ईभी आयात हुँदा साउनमा केही तल झरेको थियो । भदौमा भएको नाडा अटो शोका लागि भदौमा आयात केही बढेको थियो ।

 

पछिल्लो चार महिनामा आयात भएका ईभीमध्ये ७२ प्रतिशत चिनियाँ रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । कुल ३ हजार ४ सय ८७ युनिटमध्ये २ हजार ५ सय १० युनिट चीनबाट आयात भएको भन्सार विभागको तथ्यांक छ ।

त्यस्तै ९ सय ६९ युनिट भारतबाट आयात हुँदा चीन र भारत बाहेक तेस्रो मुलुकतर्फ जर्मनीबाट ६ युनिट र अमेरिकाबाट २ युनिट ईभी आयात भएको छ ।

चालु आव चार महिनामा ५१ देखि १०० किलोवाट मोटर क्षमता भएका २ हजार १ सय १५ युनिट ईभी आयात भएको भन्सार विभागको तथ्यांक छ ।

यस्तै ५० किलोवाटसम्म मोटर क्षमता भएका १ हजार ५० युनिट, १०१ देखि २०० किलोवाटसम्म ३ सय १६ युनिट, २०१ देखि ३०० किलोवाटसम्म ४ युनिट र ३०० किलोवाटभन्दा बढी मोटर क्षमता भएका २ युनिट ईभी आयात भएको छ ।