२०८१ पुष २८ , आइतवार

ललितपुरको ऐतिहासिक अदालत पुनःनिर्माण सुरु

Capture
सुनाखरी न्युज/ काठमाडौँ ।
जिल्लाको पाटनस्थित विश्व सम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालतको भवन पुनः निर्माण सुरु भएको छ । सम्पदा क्षेत्रभित्र अवस्थित जीर्ण अवस्थामा रहेको उक्त अदालत दसैँलगत्तै पुनः निर्माण सुरु भएको हो । पुनःनिर्माण सरु भएको ऐतिहासिक अदालतको भवन विसं १९९० को भूकम्प अगाडि तीन तलाको थियो । पुरानै स्वरूपमा भवन निर्माण गर्न नक्शा पास भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । भारतीय दूतावासको सहयोगमा काम सुरु भएको एतिहासिक अदालत भवनको पुनःनिर्माणको पतली भैरव निर्माण व्यवसायी कम्पनीले १८ महिनामा सम्पन्न गर्नेगरी जिम्मा लिएको कम्पनीका इञ्जिनियर किसन कुटाभारले जानकारी दिनुभयो ।
रु अठार करोडमा पुरानै संरचनामा निर्माण हुन लागेको अदालतमा पाटन दरबार सङ्ग्रहालयको कार्यालय रहनसक्ने दरबार सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले राससलाई जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “लामो समयको प्रतिक्षापछि जीर्ण अवस्थामा रहेको अदालत भवन पुनः निर्माण सुरु भएको छ । पूरानै शैलीमा निर्माण भएपछि पाटन दरबार क्षेत्रको स्वरूप अझ आकर्षक देखिने छ ।”
जीर्ण भवनभित्र रहेका सामान सुरक्षितसाथ अर्को ठाउँमा सारिएको ललितपुरस्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी सूचना अधिकारी पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार ऐतिहासिक अदालत भवनलगायत पाटनदरबार क्षेत्रका अन्य ऐतिहासिक सम्पदा केही पुनःनिर्माण हुँदैछन् भने केही पुनःनिर्माणको प्रक्रियामा छन् ।  रासस