सुनखरी न्युज/ काठमाडौं।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसंग नडराउन आग्रह गरेका छन् ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार बिहान प्रधानमन्त्री निबास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीलाई उनीहरुले सो आग्रह गरेका हुन् ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सल्लाहकार राजेन्द्र सीका अनुसार उक्त भेटबार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको सफलताको शुभकामना दिएका थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको क्रममा देश र जनहितको बिषयमा चीन सरकारसंग सहमति गर्न सुझाब दिदै राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसंग नडराउनसमेत आग्रह गरेका थिए ।
यसैगरी, उक्त भेटवार्तामा महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले देशको स्थिति जटिल र अराजकता मौलाउन खोजेको भन्दै त्यसको समाधान नयाँ ढङ्गले खोज्नु पर्ने बिषय औल्याएका थिए।यसैगरी, उक्त भेटवार्तामा महासचिव विप्लव सी,प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री ओलीबीच भएको उक्त भेटबार्तामा तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ।
उक्त भेटवार्तामा महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले तीन बुँदे सहमति कार्यन्वयनमा ढिलाई नगर्न र तीन बुँदे सहमति बिपरित पछिल्लो समय गिरफ्तार परेका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्न आग्रह समेत गरेका थिए ।
यसैगरी, उक्त भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले तीन बुँदे सहमति कार्यन्वयनमा सरकार दृढ भएको बताउदै छिटै टुङ्गोमा पुर्याउने बताएका थिए । उनले चीन भ्रमण सकेर फर्केपछि यस बिषयमा थप छलफल गर्ने समेत बताएका थिए।यसैगरी, उक्त भेटवार्तामा दुई पार्टीबीचको छलफल र सहकार्यलाई अघि बढाउने बिषयमा समेत छलफल भएको बताइएको छ।स्मरणीय छ, २०७७ फाल्गुन २१ गते तत्कालिन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमतिमा दुवै पक्ष– नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न, नेपाल कम्युनिष्ट पार्टी आफ्ना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा संचालन गर्न र नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको थियो । यो सहमतिको नेपाल कम्युनिस्ट पार्टीले अक्षरश : पालना गरेपनि सरकारले भने पूर्णरुपमा कार्यान्वयन गरेको छैन।