२०८१ पुष २७ , शनिवार

देशभर जाडो बढ्यो, चिसोबाट जोगिन मौसमविद्को आग्रह

weither

सुनाखरी न्युज/ काठमाडौं ।

देशभर को तापक्रम निरन्तर घट्दो छ । आज बिहान पौने ६ बजेको मापनमा काठमाडौं उपत्यकाको  न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ । यति नै न्युनतम तापक्रम सोमबार पनि थियो । मंगलबार भने काठमाडौंको न्यूनतम तापक्रम ८।८ डिग्री सेल्सियस मापन भएको थियो ।

मौसमविदले आगामी दिनमा तापक्रम घट्ने क्रम अझै जारी रहने बताएका छन् । त्यसैले चिसोबाट जोगिन आवश्यक पूर्वतयारीका काम गर्न जल तथा मौसम विज्ञान विभागले सबैलाई अनुरोध गरेको छ ।

 

मौसमविद् सञ्जिव अधिकारीले भने, ‘जाडो क्रमशः बढ्दै गइरहेको छ । तर यही बेला विगतको औसत तापक्रमसँग तुलना गर्ने हो भने चाहिँ सामान्य नै छ ।’

स्थिर खालको वायुमण्डल भएकाले तराई मधेश र पहाडी भेगमा हुस्सु लाग्ने र त्यो केहीबेरसम्म रहीरहने गरेको मौसमविद अधिकारीले बताए । आज बिहान पनि काठमाडौं उपत्यका, तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ ।

 

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा चिसो जुम्लामा छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ४.५ छ ।

यसैगरी जोमसोममा शून्य, जिरीमा ४.७, डडेलधुरामा ७.३, ओखलढुंगामा ७.६ र ताप्लेजुङमा ८.२ डिग्री सेल्सियस मापन भएको छ ।