सुनाखरी न्युज/ काठमाडौं ।
यसवर्षको ‘सिविन – नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित भएको छ । बालअधिकार संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा नगरपालिकाले अतुलनीय काम गरेको जनाउँदै सिविन नेपालले आज यहाँ आयोजित कार्यक्रममा सो सम्मान अर्पण गरेको हो ।
नगरपालिकाले जोखिममा रहेका बालबालिकाको आपत्कालीन सहयोगका लागि ‘बालकोष’ स्थापना गरेर सेवा प्रदान गरिराखेको छ । साथै नगरपालिकाले आफ्ना १५ वडा मध्ये विभिन्न आठ वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिसकेको जनाइएको छ ।चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले सो सम्मान ग्रहण गर्दै आगामी दिनमा बालअधिकार संरक्षण तथा प्रवर्धन लागि थप आवश्यक नीति तथा कार्यान्वयन गरिने जानकारी दिनुभयो ।
चन्द्रागिरि नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालका अनुसार नगरपालिकाले आफ्नो सेवालाई बालमैत्री बनाउने नीति अबलम्बन गरेको छ । सम्मानपत्रमा बालअधिकार संरक्षण तथा प्रवर्धनमा चन्द्रागिरि नगरपालिकाको प्रतिवद्धता र काम अन्य स्थानीय सरकारका लागि पनि अनुकरणीय रहेको भनिएको छ । रासस