२०८१ पुष १३ , शनिवार

एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी 

Capture
सुनाखरी न्युज/ काठमाडौं ।
मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा उपाधि जित्ने दाबेदारी गरेको छ । स्वदेशी र विदेशी खेलाडीसहितको सन्तुलित टोली भएका कारण उपाधि जित्ने जनकपुर बोल्ट्सको दाबी छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पहिलो पटक हुन लागेको एनपिएल यही मङ्सिर १५ गतेदेखि सुरु हुँदैछ । प्रतियोगिताको सुरुआतमै जनकपुर बोल्ट्सले विराटनगर किङ्ग्सको सामना गर्नेछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा उद्घाटन खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।जनकपुर बोल्ट्सको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख हुनुहुन्छ । तेइस वर्षीय आसिफले सन् २०१७ देखि नेपालको सिनियर टोलीमा डेब्यु गर्नुभएको हो । त्यसयता उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आउनुभएको छ ।
आसिफले आफनो टोलीमा चल्तीका विदेशी र नेपाली युवा खेलाडीका कारण राम्रो सन्तुलन मिलेको बताउनुभयो । पुबुदु दसानायके जस्तो प्रशिक्षक पाएका कारण आफनो टोली भाग्यशाली रहेको उल्लेख गर्दै उहाँले जनकपुर बोल्ट्सलाई जसरी पनि उपाधि जिताउने उद्देश्यका साथ खेल प्रदर्शन गर्ने विश्वास दिलाउनुभयो । मार्की खेलाडी शेखले आफनो टोलीमा सबै उत्कृष्ट खेलाडी  भएकाले प्रतियोगिताको उपाधि जित्ने दाबी गर्नुभयो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत सोमबार सुन्धारास्थित धरहरा परिसरमा एनपिएलको ट्रफी सार्वजनिक गर्दै जनकपुर बोल्ट्सका मार्की खेलाडी शेखको प्रशंसा गदै ‘क्याप्टेन कूल’को उपनाम दिनुपर्ने बताउनुभएको थियो । “जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले स्पोर्टम्यानसिप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल श्रव्यदृश्य मैले पनि हेरेको थिएँ । जनकपुर झैँ शान्त स्वभाव कायम रहोस् । आसिफ शेखलाई क्याप्टेन कूल, शान्त भनेर उपनाम दिएपनि हुन्छ जस्तो लाग्छ”, उहाँले शेखको प्रशंसा गर्दै भन्नुभएको थियो ।
जनकपुर बोल्ट्सका ‘हेड अफ अपरेशन’ निरोज खतिवडाले आफनो टोलीको तयारी राम्रो रहेकाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । उहाँले नेपाली र विदेशी खेलाडीसहितको सन्तुलित टोलीकै कारण प्रतियोगितामा राम्रो नतिजा हातपर्ने उल्लेख गर्नुभयो । खतिवडाले आफ्नो टोलीमा दुई विदेशी खेलाडी नेपाल आइसकेको र आजै बाँकी दुई विदेशी खेलाडी आउने जानकारी दिनुभयो । जनकपुर बोल्ट्समा मार्की खेलाडी आसिफसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका  सदस्यद्वय अनिलकुमार साह र ललितनारायण राजवंशी समेत रहेका छन् । त्यसैगरी टोलीका अन्य नेपाली खेलाडीमा रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् । एनपिएलमा सहभागी प्रत्येक टोलीले कम्तीमा चार विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने प्रावधान छ । तर खेलाडीको आवश्यकता हेरेर ६ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
जनकपुर बोल्ट्सले नेपाली खेलाडीसँगै ६ विदेशी खेलाडीलाई भित्र््याएको छ । जनकपुर बोल्ट्सले न्युजिल्यान्ड, पाकिस्तान र अमेरिकाका अनुभवी खेलाडीलाई भित्र्याउन सफल भएको छ । जसमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था तथा पाकिस्तानका शोएब मक्सुद र मोहमद मोहसिन खान छन् ।न्युजिल्यान्डका नीशम विश्व क्रिकेटमा चिरपरिचित खेलाडी हुनुहुन्छ । नीशमले न्युजिल्याण्डका लागि टेस्टदेखि टी–ट्वान्टी खेल खेलिसक्नुभएको छ । बाँयाहाते ब्याटर नीशमसँग आइपीएल, बीबीएल, भाइटालिटी ब्लास्ट, द हन्ड्रेडलगायत फ्रेन्चाइज लिगहरू खेलको अनुभव छ ।
त्यसैगरी अमेरिकाका दाँयाहाते ब्याटर ट्रोम्पले अमेरिकाको घरेलु क्रिकेट लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आउनुभएको छ । उहाँले अमेरिकी हौस्टन प्रिमियर लिग टी ट्वान्टी, सेन्ट्रल टेक्सास लिग टी–ट्वान्टीलगायतका प्रतियोगिता खेलिसक्नुभएको छ । श्रीलङ्कामा जन्मिएर अमेरिकाबाट क्रिकेट खेल्दै आउनुभएका विकेटकिपर एवं ब्याटर मिलान्था अनुभवी खेलाडी हुनुहुन्छ । उहाँले अमेरिकाको विभिन्न घरेलु क्रिकेट प्रतियोगिता खेल्दै आउनुभएको छ । मिलान्थाले यसअघि नेपालमै आएर क्रिकेट खेलिसक्नुभएको छ ।यस्तै पाकिस्तानी मक्सुद पनि अनुभवी खेलाडी हुनुहुन्छ । उहाँले पाकिस्तानका लागि एकदिवसीय, टी–२० लगायतका खेल खेलिसक्नुभएको छ । पाकिस्तानका मोहसिन खान अलराउण्डर हुनुहुन्छ । उहाँले क्यारेबियन प्रिमियर लिग, अमेरिकी मेजर लिग र पाकिस्तान सुपर लिग खेलिसक्नुभएको छ ।
जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके हुनुहुन्छ । दासानायकेले नेपाली क्रिकेटलाई माथिल्लो उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । सन् २०११ देखि राष्ट्रिय पुरुष टोली समाल्नुभएका उहाँकै प्रशिक्षणमा नेपालले विश्वकपसम्मको यात्रा तय गरेको थियो । नेपाली क्रिकेटको इतिहासमा प्रशिक्षक दासानयके बिर्सिन नहुने नाम हो । सुरुआतमा उहाँले सन् २०११ देखि २०१५ सम्म नेपाली टोलीको प्रशिक्षण सम्हाल्नुभएको थियो । त्यसदौरान उहाँकै प्रशिक्षणमा नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो । । नेपालले विभिन्न समयमा क्रिकेटको छनोट चरण पार गर्दै सन् २०१४ मा बङ्गलादेशमा भएको विश्वकपमा सहभागिता जनाएको थियो । उहाँकै प्रशिक्षणमा उपाधि जित्नेमा जनकपुर बोल्ट्स विश्वस्त रहेको छ ।
पाकिस्तानी खेलाडी मक्सुदले नखेल्ने  
जनकपुर बोल्ट्सका लागि अनुबन्धित पाकिस्तानी खेलाडी शोएब मक्सदु फिटनेशमा समस्या भएपछि प्रतियोगिता खेल्न नआउने निश्चित भएको छ । जनकपुर बोल्ट्सका हेड अफ अपरेशन खतिवडाका अनुसार मक्सुदको स्थानमा इङल्याण्डका अलराउण्डर बेन माइकलाई अनुबन्ध गरिएको छ ।
उहाँले पनि विभिन्न प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्नभएको छ । प्रतियोगितामा जनकपुर बोल्ट्सगै काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सको सहभागिता रहेको छ ।  मुना कार्की/रासस