२०८१ माघ १ , मंगलबार

बिडिसिए कपः थालिगाडा विजयी

cricket

सुनाखरी न्युज/ काठमाडौं ।

बैतडीमा जारी २१औँं संस्करणको रेडियन्ट ग्यास बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थालिगाडा क्रिकेट क्लब विजयी भएको छ । थालिगडाले बर्तोली क्रिकेट क्लबलाई ५९ रनले हराउँदै विजयी भएको हो ।जितका लागि पाएको दुई सय ३१ रनको विशाल लक्ष्य पछ्याएको बर्तोलीले २५ ओभरमा एक सय ७१ रन मात्रै बनाउन सक्यो । नरेन्द्र भण्डारीले सर्वाधिक ३१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । यो पराजयसँगै बर्तोली प्रतियोगिताबाट बाहिरिएको छ । बर्तोलीको यो दोस्रो हार हो । यसअघि बुधबार पञ्चकोटी क्रिकेट क्लबसँग एक सय ४३ रनले पराजित भएको थियो । बर्तोलीका सन्दीप भण्डारीले ४ विकेट झारे ।

थालिगडाका मनोज ऐरीले ५ विकेट झारे । उनी म्यान अफ द म्याचसमेत चुनिएका छन् । यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेको थालिगाडाले २५ ओभरमा छ विकेटको क्षतिमा दुई सय ३० रन बनायो । थालिगाडाका हरिस कार्की र नविन ठगुन्नाले अर्धशतक प्रहार गरे । हरिसले ५० र नविन ५४ रनमा अविजित रहे ।बैतडी जिल्ला क्रिकेट सङघको आयोजना सञ्चालित प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताको रूपमा समेत लिइएको छ । यही मङ्सिर ११ गतेदेखि सुरु भएको प्रतियोगिता मङ्सिर ३० गतेसम्म सञ्चालन हुने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार दुई चरणमा हुने प्रतियोगितामा पहिलो चरणमा हाल प्लेट च्याम्पियनसिपका खेल भइरहेका छन् ।

प्लेट च्याम्पियनसिप सम्पन्नपश्चात् मङ्सिर २० देखि इलाइट च्याम्पियनसिपका खेल सञ्चालन हुने जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रतियोगिता पहिलोपटक ‘टर्फ पिच’मा भइरहेको छ ।नेपाल क्रिकेट सङ्घको सहयोगमा दशरथचन्द खेलमैदान, सुन्दरखालीमा टर्फ पिच निर्माण गरिएको हो । प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख, द्वितीय पुरस्कार रु ५० हजार र प्लेट च्याम्पियन हुने टोलीलाई रु २५ हजार, म्यान अफ द सिरिजलाई रु १५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ । रासस