२०८१ मंसिर १३ , बिहिवार

चीनका उच्च सैन्य अधिकारी मियाओ हुआविरूद्ध भ्रष्टाचार आरोप, अनुसन्धान जारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भ्रष्टाचार विरोधी कारबाहीमा परेका एक वरिष्ठ सैनिक अधिकारीलाई ‘अनुशासनको गम्भीर उल्लङ्घन’ गरेको आरोपमा पदबाट हटाइएको बेइजिङले बिहीबार जनाएको छ ।चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु कियानले पत्रकार सम्मेलनमा भन्नुभयो, “सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले मियाओ हुआलाई अनुसन्धान नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।”वुले बेइजिङको शक्तिशाली सेन्ट्रल मिलिटरी कमिसन (सीएमसी) का सदस्य तथा एडमिरल मियाओविरुद्ध लगाइएको आरोपबारे थप जानकारी दिनुभएन ।

मियाओ चीनको केन्द्रीय सैन्य आयोगमा राष्ट्रपति सी चिनफिङसहित अन्य पाँच सदस्यसँगै कार्यरत हुनुहुन्थ्यो ।उहाँले चिनियाँ सैन्य आयोग (सीएमसी)को राजनीतिक कार्य विभागको नेतृत्व गर्नुभएको थियो । यो शीर्ष सैन्य निकायको सबैभन्दा महत्त्वपूर्ण कार्यालय हो।एशिया सोसाइटीका वरिष्ठ फेलो लाइल मोरिसले मियाओलाई सीको ‘घनिष्ठ सहयोगी’ र सेना र पार्टीबीच ‘विश्वसनीय वार्ताकार’ का रूपमा वर्णन गर्नुभएको छ ।बेइजिङले गत वर्ष सशस्त्र बलमा कथित भ्रष्टाचारविरुद्ध कडा कदम चालेको बताएको थियो र यसै महिना सीले सेनालाई भ्रष्टाचार निर्मूल पार्न र आफ्नो ‘युद्ध तयारी’ लाई मजबुत बनाउन आदेश दिनुभएको थियो ।

ब्लुमबर्गले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, “सेनामा भ्रष्टाचार विरोधी अभियानको तीव्रता आंशिक रूपमा देखिएको छ र यसले भविष्यमा युद्ध गर्ने चीनको क्षमतामा असर पार्न सक्छ भन्ने डर उब्जिएको छ ।एक विशेषज्ञले एएफपीसँग भन्नुभयो, “मियाओलाई हटाउँदा सीको कडा प्रयासका बावजुद पीएलएमा भ्रष्टाचार र अनुशासनका मुद्दाहरूको सहनशीलता प्रकट हुन्छ।”सिंगापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका सहायक प्राध्यापक डिलन लोहले भन्नुभयो, “मलाई लाग्छ, स्पष्ट प्रतिष्ठाको बावजुद खुला र सार्वजनिक रूपमा यी अनुसन्धानहरू अझै पनि भइरहेका छन् र यसले सीको भ्रष्टाचारलार्ई जरैदेखि उखेलेर फाल्ने सङ्कल्पलाई देखाउँछ।

सोही ब्रिफिङमा वुले रक्षामन्त्री डोङ जुनलाई भ्रष्टाचारको आरोपमा अनुसन्धानको दायरामा राखिएको भन्ने समाचारको खण्डन गर्नुभयो ।वूले भन्नुभयो, “प्रश्नमा आएका रिपोर्टहरू विशुद्ध मनगढन्ते छन्।”उहाँले भन्नुभयो, “अफवाह फैलाउनेहरु गलत मनसायबाट प्रेरित भएको देखिन्छ । यस्तो निन्दनीय व्यवहारप्रति चीनले आफ्नो कडा असन्तोष व्यक्त गरेको छ ।”नौसेनाका पूर्व कमाण्डर डोङलाई गत डिसेम्बरमा रक्षामन्त्रीमा नियुक्त गरिएको थियो भने सात महिनामै पूर्ववर्ती ली शाङफुलाई अचानक पदबाट हटाइएको थियो ।लीलाई पछि घूस खोरीलगायत अपराधमा कम्युनिस्ट पार्टीबाट निष्कासित गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । त्यसयता उहाँ सार्वजनिक रुपमा देखिनुभएको छैन ।

उनका पूर्ववर्ती वेई फेङहेलाई पनि पार्टीबाट निस्काशित गरी भ्रष्टाचारको आरोपमा अभियोजकहरूलाई हस्तान्तरण गरिएको थियो ।चीनको परम्परागत र आणविक क्षेप्यास्त्रको विशाल भण्डारको रेखदेख गर्ने चीनको गोप्य रकेट फोर्सको विशेष गरी गहन अनुसन्धान भइरहेको छ ।गत जुलाईमा रकेट फोर्सका एक उच्च चिनियाँ अधिकारी सन जिनमिङलाई पार्टीबाट निकालियो र भ्रष्टाचारको आरोपमा अनुसन्धानको दायरामा ल्याइयो ।चिनियाँ सेनाको अपेक्षाकृत नयाँ एकाइ रकेट फोर्ससँग सम्बन्धित कम्तीमा दुई अन्य उच्च पदस्थ अधिकारीहरूलाई पनि भ्रष्टाचारको आरोपमा हटाइएको छ।  रासस/एएफपी