सुनाखरी न्युज/ काठमाडौं ।
कन्हैया लाल माणिकलाल मुंशी हिन्दी तथा भाषा विज्ञान विद्यापीठ, डा. भीमराव अम्बेडकर विश्वविद्यालय, आगरा, श्रीमती बी.डी. जैन कन्या महाविद्यालय, आगरा, बैकुण्ठी देवी कन्या महाविद्यालय, आगरा, अखिल विश्व हिन्दी समिति, कनाडा; कथा (यु.के.) लन्डन, ग्लोबल हिन्दी ज्योति, क्यालिफोर्निया (अमेरिका) एवं हिन्दी वैश्विक संस्थान, नेदरल्यान्ड र हिन्दी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ,को संयुक्त तत्वावधानमा हाइब्रिड मोडमा आयोजित अन्तर्विषयी अन्तर्राष्ट्रिय संगोष्ठी विश्व फलक पर राम, (साहित्यिक,सामाजिक एवं सांस्कृतिक सन्दर्भ) २०८१, मंसिर १२ र १३ गते (27, 28 नोभेम्बर, 2024) त्रिभुवन विश्वविद्यालयको प्राङ्गण स्थित नयाँ पुस्तकालय भवनमा सम्पन्न भयो।
उद्घाटन सत्रको अध्यक्षता प्रोफेसर आशु रानी, कुलपति, डा. भीमराव अम्बेडकर विश्वविद्यालय, आगराले गर्नुभएको थियो। उहाँले आफ्नो अध्यक्ष भाषणमा भन्नुभयो कि राम अथवा रामायणलाई वैज्ञानिक दृष्टिकोणले हेर्न आवश्यक छ। रामायणमा ज्ञानको, विमानको (विज्ञानको) , सञ्जीवनी औषधि लगायत धेरै विषयमा चर्चा गरिएको छ। त्यो चर्चा त्यसै गरिएको होइन, मानवहितका लागि गरिएको हो र यसलाई वैज्ञानिक दृष्टिकोणले हेर्न जरुरी छ, भन्नुभयो । उक्त गरिमामय संगोष्ठीको मुख्य अतिथिमा माननीय बद्रीप्रसाद पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्थ्यो। उहाँले भन्नुभयो कि हामी वसुधैव कुटुम्बकमको अवधारणालाई पालन गर्छौं र विश्वका सबै मानिसलाई हामी श्रद्धा र सम्मान गर्छौं। हाम्रा धर्म ग्रन्थहरूमा यही लेखिएको छ र हाम्रो संस्कृति पनि यही नै हो। नेपाल र भारतको सम्बन्ध सदियौँ पुरानो छ र यो सम्बन्ध हमेसा बनिरहोस्। हामी नेपाल र भारत दुवै देशलाई समृद्धि र सुन्दर देख्न चाहन्छौं। उहाँले अगाडि भन्नुभयो कि हामी चाहन्छौं कि जनकपुर र अयोध्याको बीचमा पनि हवाई एयर होस्। दिल्लीको अक्षरधाम र मुक्तिनाथलाई हामी जोड्न सकौँ। त्यसै पनि नेपाल र भारतका जनता बीच सुमधुर सम्बन्ध छ। हाम्रो सम्बन्ध भनेको मन्त्री-मन्त्री बीचको अथवा प्रधानमन्त्री-प्रधानमन्त्री बीचको मात्रै नभएर जनस्तरसँग छ। विशिष्ट अतिथिको रूपमा श्री प्रसन्न श्रीवास्तव, मिसन उपप्रमुख, भारतीय दूतावास, हुनुहुन्थ्यो। उहाँले भन्नुभयो कि विश्व फलक पर राम विषयको आयोजना नेपाल र भारतको पुरातन सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई पनि प्रगाढ बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ। यस प्रकारका कार्यक्रमले नेपाल भारत बीचको सम्बन्धमा मधुरता ल्याउनेछ र नेपाल भारत दुवै देशबीच सम्बन्ध प्रबल हुनेछ। साथसाथै नेपाल र भारत दुवै देशबीचको सांस्कृतिक धरोहरको प्रचार-प्रसारमा बल पुग्नेछ। संगष्ठीमा मुख्य वक्ता डाक्टर अनिता कपुर, वरिष्ठ साहित्यकार हुनुहुन्थ्यो। उहाँले रामको महिमा र रामको सान्दर्भिकता बारे गहन चर्चा गर्नुभएको थियो। सारस्वत अतिथिको रुपमा प्रो. पुनम सिंह (भारत) र प्रोफेसर वन्दना अग्रवाल (भारत) हुनुहुन्थ्यो। संगोष्ठीमा उपस्थित महानुभावलाई स्वागत गर्दै प्रोफेसर सन्जिता वर्मा, पूर्व विभागाध्यक्ष, हिन्दी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयले भन्नुभयो कि आजको दिनमा सबै क्षेत्रमा अर्थात् राजनीतिक, आर्थिक, सामाजिक र धार्मिक क्षेत्रमा रामको आवश्यकता छ। जुन आदर्श श्रीरामले राख्नुभएको थियो, त्यही आदर्शलाई अपनाउनु आवश्यक छ। हामी रामको गुणगान त गर्छौ तर उहाँको आदर्शलाई अपनाउँदैनौं। अर्को कुरा रामको गुणगान मात्रै होइन सीताको गुणगान गाउनु पनि आवश्यक छ। किनभने जुन त्याग, समर्पण र कर्तव्यनिष्ठा सीताले अपनाउनुभयो त्यो अत्यन्तै अनुकरणीय र सराहनीय छ, त्यसैले सीताको कुरा हुनु पनि आवश्यक छ। उहाँले सितायन पुस्तकको पनि चर्चा गर्नुभयो। संगोष्ठीमा डा. श्वेता दीप्ती, विभागीय अध्यक्ष, हिन्दी केन्द्रीय विभागले भन्नुभयो कि राम हाम्रा आस्था एवं विश्वास हुन्। रामको बारेमा केवल दुई दिनमा हामी बयान गर्न सक्दैनौँ। यसरी नै यस संङ्गोष्ठीका संयोजक प्रोफेसर प्रदीप श्रीधर, अध्यक्ष, हिन्दी विभाग एवं निर्देशक कन्हैया लाल माणिकलाल मुंशी हिन्दी तथा भाषा विज्ञान विद्यापीठले कार्यक्रममा आफ्नो मन्तव्यमा रामायणको धेरै प्रसङ्गको कुरा उठाउनुभयो। उहाँले रामको धेरै प्रसङ्ग उठाउँदै आजका दिनमा रामायणको प्रत्येक प्रसङ्ग आवश्यक छ भन्नुभयो। त्यसरी नै कार्यक्रममा प्रोफेसर खडग के.सी, शिक्षाध्यक्ष, त्रिभुवन विश्वविद्यालयले आफ्नो मन्तव्य राख्नुभएको थियो र यस संगोष्ठीको शुभकामना दिनुभएको थियो।
संगोष्ठीमा चार विद्वान एवं साहित्यकारहरूलाई सम्मान गरिएको थियो। उहाँहरूलाई यो सम्मान साहित्यमा आफ्नो महत्वपूर्ण योगदान पुर्याए वापत र नेपाल भारत सम्बन्धलाई उचाइ सम्म पुर्याए वापत दिइएको थियो। उहाँहरू हुनुहुन्थ्यो प्रोफेसर आशु रानी, कुलपति आगरा विश्वविद्यालय, प्रोफेसर प्रदीप श्रीधर, अध्यक्ष, हिन्दी विभाग एवं निर्देशक कन्हैया लाल माणिकलाल मुंशी हिन्दी तथा भाषा विज्ञान विद्यापीठ, डा. अनिता कपुर, वरिष्ठ साहित्यकार एवं संस्थापक अध्यक्ष, ग्लोबल हिन्दी ज्योति, क्यालिफोर्निया र डाक्टर सुशील कोटनाला, प्रदेश प्रमुख, ठाकुरराम सिंह स्मृति शोध संस्थान, उत्तराखण्ड। कार्यक्रममा चार पुस्तकको विमोचन भयो। कार्यक्रममा नेपाल भारतका वरिष्ठ साहित्यकार एवं विद्वाहरूको गरिमामय उपस्थिति थियो। उद्घाटन सत्रको धन्यवाद मन्तव्यमा डिल्लीराम शर्मा संग्रौला (विभागाध्यक्ष, संस्कृत, पत्रकारिता एवं हिन्दी, त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पस)ले आगन्तुक सबै विद्वानहरूलाई आभार व्यक्त गर्दै भन्नुभयो कि यस प्रकारको संगोष्ठी समय समयमा भइरहनुपर्छ, जसबाट एक अर्का देशको सांस्कृतिक, धार्मिक, सामाजिक तथा राजनैतिक सम्बन्धको थाहा हुन्छ र साहित्यमा नयाँ नयाँ कुराको पनि पत्ता लाग्नेछ। उहाँले संगोष्ठीको बीचबीचमा आफ्नो मधुर आवाजबाट श्रोताहरूको मन जित्नुभएको थियो। संगोष्ठी हलको बाहिरपट्टि टाँगिएका चित्रहरूले सबैको मन आकर्षित गरेको थियो। यी चित्रहरू भारतकी चित्रकार प्रोफेसर दीप्ति अग्रवालले बनाउनुभएको थियो र उहाँको सबैले मुक्त कण्ठले प्रशंसा गरेका थिए। कार्यक्रमको कुशल सञ्चालन नितिन सेठी, डिलिट, भारतले गर्नुभएको थियो। यस प्रकारले पहिलो दिनको उद्घाटन समारोह समाप्त भयो। उद्घाटन सत्र पश्चात चारवटा अकादमिक सत्र भए जसमा विभिन्न देशका विद्वानहरुले आफ्नो शोधपत्र एवं मन्तव्य राख्नुभएको थियो। नेपालबाट १५ विद्वानहरूले शोधपत्र वाचन गर्नुभएको थियो जस्तै प्राडा भागवत ढकाल, विनोद कुमार विश्वकर्मा, डा. मञ्चला झा, डा. लक्ष्मी जोशी, डा. अम्बिका अर्याल, डा. कुलराज निरौला, मनमाया पोखरेल, शारदा पाण्डे, ऋषिराम खनाल, कन्चना झा, अंशु झा आदि र भारतबाट प्रो. बहादुर सिंह परमार, प्रो. वन्दना अग्रवाल, प्रो. पुनम सिंह, प्रो. अनुसुईया अग्रवाल, प्रो. शिखा श्रीधर, डा. मधु वशिष्ठ, प्रो. बिन्दु अवस्थी, प्रो. गुञ्जन, प्रो. सारिका दुबे, प्रो. निलीमा सिंह, प्रो. आशिमा घोष, डा. सुशील कुमार कोटनाला, डा. कञ्चन गुप्ता, डा. विनिता गुप्ता, डा. एकता, डा. निशीथ गौड, डा. सुमित्रा देवी साहु, डा. सुप्रिया पाटेरी, डा. इन्दु के.वी, डा. कोमल बसल, डा. सीमा चौधरी, डा. प्रीति यादव, डा. मधु ओझा, डा. दीप्ति अग्रवाल, प्रेमलता, श्रीमती क्षमा वर्मा, श्रीमती प्रीति नागर, डा. वन्दना कौशिक, डा. करुणा देवी शर्मा, श्री ललित भूषण, डा. निटिन सेठी, शिवानी चौहान, डा. सञ्जय कुमार आदि।
अर्को दिन अर्थात् १३ गते दुई अकादमिक सत्र पछाडि समापन सत्र भयो। समापन सत्रको अध्यक्षता प्रोफेसर सन्जिता वर्मा, पूर्व विभागाध्यक्ष, हिन्दी केन्द्रीय विभागले गर्नुभएको थियो र मुख्य अतिथि माननीय रेखा यादव, सांसद, नेपाल, हुनुहुन्थ्यो। विशिष्ट अतिथिमा प्रोफेसर नारायण गौतम, विभागाध्यक्ष, संस्कृत, त्रि.वि., प्रा.डा भागवत ढकाल, प्राचार्य, बाल्मिकी विद्यापीठ एवं भारतका विद्वान हुनुहुन्थ्यो। प्रमुख अतिथि रेखा यादव, सांसद नेपालले नेपाल भारतको सम्बन्ध बारे चर्चा गर्नुभयो । उहाँले दुवै देशका नागरिक हेर्दा पनि उस्तै छन् र धार्मिक तथा सांस्कृतिक पक्ष पनि उस्तै छ भन्नुभयो। नेपाल भारतको सम्बन्ध प्राचीनकाल देखि नै भएको भन्नुभयो। अयोध्याका राजकुमार रामको मिथिलाकी राजकुमारी सीतासँग विवाह भएको थियो। त्यो सम्बन्ध आज पनि यथावत छ उहाँले भन्नुभयो। यस प्रकारको कार्यक्रम भइरहोस् र मेरो चाहना छ कि अर्कोचोटि जनकपुरमा होस्। जनकपुरमा गर्दा मैले गर्नुपर्ने सहायता म गर्नेछु भनेर उहाँले बचन दिनुभयो। कार्यक्रममा डाक्टर सुशील कोटनाला ,सहसयोजक लगायत धेरै विद्वानहरूले आफ्नो मन्तव्य राख्नुभयो। कार्यक्रममा उपस्थित सबै नेपाल भारतका प्रतिनिधि मण्डलाई पशुपति अङ्कित मायाको चिनो प्रदान गरिएको थियो। यसरी दुई दिने अन्तर्राष्ट्रिय संगोष्ठी सफलतापूर्वक सम्पन्न भयो र संगोष्ठीको आगन्तुक विद्वानहरूद्वारा खुब प्रशंसा गरिएको थियो। समापन सत्रको कुशल सञ्चालन डा. सीमा चौधरीले गर्नु भएको थियो।