२०८१ मंसिर १९ , बुधवार

विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै

Bibaha panchami

सुनाखरी न्युज/ जनकपुरधाम ।

सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा परम्परागत रूपमा फूलबारी लिला मनाइँदै छ ।

यस अवसरमा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाउने परम्परा रहेको छ । साँझ विवाहमण्डप नजिकै रहेको फूलबारीमा राम र लक्ष्मणको अवलोकन गराइने कार्यक्रम छ ।

 

फूलबारी लिलामा राम, लक्ष्मण र जानकीको स्वरूपमा सिँगारिएका बालबालिकालाई फूलबारीमा घुमाउने परम्परा छ ।

किंवदन्ती अनुसार, त्रेता युगमा गुरु विश्वामित्रसँग धनुष यज्ञमा भाग लिन अयोध्याबाट आएका राम र लक्ष्मण पुष्पबाटिकामा घुम्न जाँदा राम र सीताको नजर एकअर्कामा परेको थियो। त्यही बेला जानकीले रामलाई जीवनसाथीका रूपमा पाउन मनोकामना गरेको जनविश्वास रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दासले बताए ।

 

त्रेता युगामा भएको मर्यादा पुरुषोतम् भगवान राम र आदर्श नारी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामसंग विवाहपञ्चमी पर्व मनाइन्छ । यस वर्ष मंसिर १६ गतेबाट सुरु भएको विवाहपञ्चमी २२ गतेसम्म चल्ने छ ।

हिजो पहिलो दिन जानकी मन्दिरमा नगरदर्शन लिला सम्पन्न भएको थियो ।