सुनाखरी न्युज/ काठमाडौं ।
धरान उपमहानगरपालिका-१३ अमरहाटबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ९० किलोग्राम मंगलबार बेलुकी प्रहरीले बरामद गरेको छ ।
सरकारी नम्बर प्लेट लगाएको बा.१ झ ४६०५ नम्बरको स्कार्पियोबाट ३ सय ३० किलोग्राम र बा.१ झ ५१२७ नम्बरको गाडीबाट ३ सय ६० किलोग्राम गरी दुवै गाडीबाट उक्त परिमाणको गाँजा प्रहरीले बरामद गरेको हो ।
साथै प्रहरीले बा.१ झ ४६०५ नम्बरको स्कार्पियो चालक मोरङ सुन्दरहरैंचा नगरपालिका-११ बस्ने ३६ वर्षीय श्याम कुमार विकलाई प्रहरीले पक्राउ गरेको छ ।उक्त गाडीहरूमा लागूऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बा.१ झ ४६०५ नम्बरको स्कार्पियोबाट ११ वटा बोरामा रहेको ३ सय ३० किलोग्राम गाँजा सहित चालक विकलाई पक्राउ गरेको थियो ।
साथै प्रहरीले गाडीलाई नियन्त्रणमा लिने क्रममा तत्काल भागेको बा.१ झ ५१२७ नम्बरको गाडी सोही ठाउँस्थित भित्री बाटोमा छाडी चालक फरार भएको अवस्थामा फेला पारी उक्त गाडीलाई तलासी गर्दा १२ वटा प्लाष्टिक भित्र प्याक गरेको अवस्थामा ३ सय ६० किलोग्राम गाँजा फेला पारी बरामद गरेको थियो ।
प्रहरीले हाल फरार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।