२०८१ पुष २६ , शुक्रवार

रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा परेर आठ प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्नथालेपछि उक्त कार्य रोक्नका लागि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको उहाँले बताउनुभयो । घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

“प्रहरीले बल प्रयोग गरेको छैन । प्रदर्शनकारीले ढुङ्गा हान्दा प्रहरी घाइते भएका हुन्”, प्रहरी उपरीक्षक मिश्रले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय अगाडी सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र नाघेपछि सो कार्य रोक्न खोज्दा झडप भएको उहाँले जानकारी दिनुभयो ।

प्रदर्शनकारीतर्फ १६ जना घाईते भएको रास्वपा चितवनका सभापति कृष्ण भुषालले जानकारी दिनुभयो । घाइतेको भरतपुर सामुदायिक अस्पताल, नारायणी सामुदायिक अस्पताल, देव अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । रास्वपा सभापति लामिछानेको बयान सरकारी वकिलको कार्यालयमा जारी छ । यहाँको साहारा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि प्रहरीले उहाँलाई बयानका लागि मङ्गलबार काठमाडौँबाट चितवन ल्याएको हो । साहारा सहकारीबाट रु १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोप लागेपछि उहाँलाई बयानका लागि चितवन ल्याइएको हो । रासस