२०८१ पुष ९ , मंगलबार

अमेरिकाद्वारा मानव अधिकार उल्लङ्घनको आरोपमा चीन र रुसका कम्पनीहरूमा व्यापारमाथि प्रतिबन्ध

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

संयुक्त राज्य अमेरिकाले मङ्गलबार मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै दुई चिनियाँ कम्पनी र रुसका धेरै कम्पनीसहित आठ कम्पनीमा व्यापार प्रतिबन्धको घोषणा गरेको छ ।अमेरिकी अधिकारीहरूले पहिचान गरेका चीनका कम्पनीहरूमा झेजियाङ युनिभ्यु टेक्नोलोजी पर्दछ । ती कम्पनीमाथि उइगुर र अन्य जातीय तथा धार्मिक अल्पसङ्ख्यक समूहहरूको निगरानी जस्ता मानव अधिकार उल्लङ्घनलाई सहयोग गरेको आरोप लगाइएको छ ।अमेरिकी वाणिज्य मन्त्रालयले नामकरण गरेको अर्को फर्म बेइजिङ झोङडुन सुरक्षा प्रविधि समूह थियो । उक्त कम्पनीले सार्वजनिक सुरक्षा अधिकारीहरूलाई अधिकार उल्लङ्घन गर्न अनुमति दिने उत्पादनहरू विकास र बिक्री गर्ने भनिएको छ ।

यी व्यवसायहरूलाई ‘सन्दर्भ सूची’ मा थपिएको छ । सूचीमा थपिएपछि अमेरिकी कम्पनीहरूलाई तिनीहरूलाई निर्यात गर्नुअघि अनुमतिपत्र लिन आवश्यक पार्छ।“मानव अधिकार हनन संयुक्त राज्य अमेरिकाको विदेश नीतिको हित विपरीत छ”, उद्योग र सुरक्षाका लागि वाणिज्य उपमन्त्री एलन एस्टेवेजले विज्ञप्तिमा भन्नुभयो, “यी कम्पनीहरूलाई सन्दर्भ सूचीमा थप्नुको उद्देश्य अमेरिकी प्रविधि मानव अधिकार उल्लङ्घन र दुर्व्यवहार सक्षम गर्न प्रयोग गरिएको छैन भनेर सुनिश्चित गर्नु हो ।”अमेरिकी सरकार र अन्य पश्चिमी देशका कानून निर्माताहरूले उत्तर–पश्चिमी सिन्जियाङ क्षेत्रमा उइगुर अल्पसङ्ख्यकहरूप्रति चीनले गरेको व्यवहारलाई लक्षित गरेका छन् ।

अधिकार समूहहरूले कम्तिमा १० लाख मानिस, प्रायः मुस्लिम अल्पसङ्ख्यकका सदस्यहरू, यस क्षेत्रमा कैद गरिएको र विभिन्न दुर्व्यवहारको सामना गरेको बताएका छ । यद्यपि बेइजिङले ती आरोपहरूलाई दृढतापूर्वक अस्वीकार गर्दछ ।मङ्गलबारका अन्य लक्षित कम्पनीमा म्यानमाका दुई र रुसका अर्को दुई कम्पनीहरू पर्दछन् । ती कम्पनीले म्यानमाको सेनालाई नागरिकहरूविरुद्ध हवाई आक्रमण जस्ता कार्यहरू गर्न अनुमति दिने सामग्रीहरू उपलब्ध गराउँछन् ।अन्य दुई रुसी संस्थालाई मस्कोलाई अनुहार पहिचान प्रविधि उपलब्ध गराएको कारण समावेश गरिएको छ । ती संस्थाको उद्देश्य ‘शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई लक्षित गर्नु’ हो र यो रुसको व्यापक निगरानी प्रणालीको एक महत्त्वपूर्ण अवयव हो ।  रासस