सुनाखरी न्युज/ काठमाडौं।
संघीय राजधानी काठमाडौँको मध्यभाग भएर बग्ने इच्छुमती ९टुकुचा० को दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिले माग गरेका छन् । इच्छुमती किनारको दायाँबायाँ चार÷चार मिटरको मात्र कोरिडोर निर्माण गर्दा पनि राजधानीको सवारी ‘जाम’ कम हुने जनाइएको छ । काठमाडौँ महानगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ इच्छुमती किनारको दायाँबायाँ चार÷चार मिटरको मात्र कोरिडोर निर्माण गर्दा पनि राजधानीको जाम कम हुने बताउनुहुन्छ । काठमाडौँ महानगरपालिका–२ मा इच्छुमतीको करिब ६२० मिटर लम्बाई पर्ने उल्लेख गर्नुहुँदै उहाँले बहाब क्षेत्र चार मिटर छोडेर दायाँबायाँ चार÷चार मिटरको सडक बनाउनुपर्ने स्थानीयवासीको माग रहेको बताउनुभयो । काठमाडौँ उपत्यका विकास प्राधिकरणले पनि इच्छुमतीको बहाब क्षेत्र चार मिटर र दायाँबायाँ चार÷चार मिटरको मापदण्ड तोकेको छ ।
काठमाडौँ महानगरपालिका–२लाजिम्पाटको नीलसरस्वतीस्थान क्षेत्रमा करिब एक सय ५० मिटर सडक रहेको वडा कार्यालयले जनाएको छ । अर्को भागमा केही टहरा भएकाले त्यसलाई भत्काएर सडक खोल्न सकिने उहाँले जानकारी दिनुभयो । ६२० मिटर क्षेत्रमा छ देखि सात वटा घर भने नदी किनारको चार मिटर मापदण्ड मिचेर निर्माण भएकाले त्यसलाई भत्काउनुपर्ने वडा अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । यस क्षेत्रमा नदीको मापदण्ड कसले कति मिचेका छन् भन्ने तथ्य पनि बेला बेलामा सार्वजनिक हुने गरेको छ । काठमाडौँ महानगरपालिका–२८ ले शङ्करदेव क्याम्पसअघिको करिब १०० मिटर क्षेत्रमा पनि कोरिडोर खुला गरेको छ । वडा नं २८ मा रहेको समाज कल्याण परिषद्को जग्गामा भने अहिलेसम्म कोरिडोर निर्माण हुन सकेको छैन । वडा नं २८ को सबै भागमा कोरिडोर निर्माण हुनुपर्छ भन्ने स्थानीयवासीको माग रेहको वडा अध्यक्ष भाइराम खड्गी बताउनुहुन्छ ।
वडा नं ११ को भद्रकाली प्लाजामा पनि करिब १०० मिटर इच्छुमती कोरिडोर खुला छ । बाँकी भागमा धेरै जग्गा सरकारी कार्यालयको पर्ने वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार बताउनुहुन्छ । सरकारी कार्यालयलाई ठाउँ छोडाएर राजधानीकोबीच भाग पारेर कोरिडोर बनाउनुपर्छ भन्ने विचार आफूले तत्कालीन महानगरपालिका सभामा विसं २०४९ देखि नै राख्दै आएको उहाँको भनाइ छ ।
नदी सभ्यता बचाउने सन्दर्भमा स्पष्ट नीति नभएकैले राजधानीको मध्यभाग भएर बग्ने इच्छुमती धेरै फोहर भएको वडाध्यक्ष तण्डुकार बताउनुहुन्छ । राजधानीका नदीमा तीनै तहका सरकार मिलेर कोरिडोर निर्माण गर्न सके नदी सफाइका लागि पनि सहयोग पुग्ने विश्वास गरिएको छ । बागमती, रुद्रमती ( धोबीखोला), विष्णुमती, मनोहरालगायत नदी किनारमा बनेको कोरिडोरले सहज यातायात सुविधा दिएको छ । कोरिडोर निर्माण भएकै कारण नदीमा फोहर फाल्नेहरु समातिएर कानुनी कारबाहीको दायरामा परेको बागमती सफाइ अभियानकर्मी गोविन्द काफ्ले बताउनुहुन्छ । इच्छुमतीको सफाइका लागि पनि कोरिडोर खोल्नुपर्ने माग राजधानीमा बढ्न थालेको छ । इच्छुमती महानगरपालिकाका वडा नं १, २, ३, ४, ५, २८ र ११ क्षेत्र भएर बग्ने गरेको छ । इच्छुमती कोरिडोर खोल्न महानगरपालिका नै लाग्नुपर्ने वडा नं ११ का अध्यक्ष तण्डुकारको माग रहेको छ । कोरिडोरमा दुई पाङ्ग्रे र साना सवारीलाई प्रवेश गराउँदा ठूला सडकमा सवारी जाममा कमी आउने महानगरपालिकाका जनप्रतिनिधिको भनाइ छ । रासस