सुनाखरी न्युज/ काठमाडौं ।
तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ । डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।गत डिसेम्बर ४ मा पुष्पा २ को प्रिमियरका वेला एक ३९ वर्षीया महिलाको ज्यान गएको थियो भने उनका छोरा गम्भीर भएका थिए । प्रहरीले यस घटनामा सन्ध्या थिएटरको व्यवस्थापन, अभिनेता अल्लु अर्जुन र उनको सुरक्षा टोलीलाई विपक्षी बनाएर मुद्दा दायर गरेको छ ।
मृतक महिलाको नाम रेवती बताइएको छ । एक प्रहरी अधिकारीका अनुसार उनी एक बच्चालाई बचाउने प्रयास गरिरहेकी थिइन्। सुरुमा यो विशेष शोमा अल्लु अर्जुन जाने कार्यक्रम थिएन तर अल्लु अर्जुनको टोलीले अचानक यहाँ उनको भ्रमणको योजना बनायो र उनी थिएटरमा पुग्ने बित्तिकै उनलाई हेर्न फ्यानहरूमा भागदौड मच्चियो।
समाचार एजेन्सी एएनआईका अनुसार हैदराबाद पुलिसले अल्लु अर्जुनलाई सोधपुछका लागि चिक्कडपल्ली प्रहरी चौकीमा लगेको छ।यो घटनापछि अल्लु अर्जुनले एक प्रेस सम्मेलन राखेर उक्त घटनाको बारेमा कुराकानी गरेका थिए । ‘सन्ध्या थिएटरमा भएको घटना हुनु हुँदैनथ्यो । म सन्ध्या थिएटर गएको थिएँ। पूरा फिल्म हेर्न पनि पाइनँ। त्यतिबेला मेरो म्यानेजरले भिड धेरै भएपछि निक्लनु भनेका थिए। यो घटना बारे मैले भोलिपल्ट जानकारी पाएँ,’ उनले भनेका थिए । उनले अगाडि थप्दै भनेका थिए, ‘सुकुमार सर ( निर्देशक) पनि यस मामिलाबाट निकै दुस्खी हुनुहुन्छ।अल्लुलाई चिक्कडपल्ली प्रहरी थानाको टोलीले शुक्रबार हिरासतमा लिएको थियो, जहाँ मुद्दा दर्ता गरिएको थियो ।