२०८१ पुष ८ , सोमवार

नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

योमरी पूर्णिमा र ज्यापु दिवसको अवसरमा काठमाडौंमा र्‍याली निकालिएको छ । इन्द्रचोकबाट बिहान १० बजेदेखि सुरु भएको र्‍याली वटु, न्यूरोड हुँदै बसन्तपुर सभामा परिणत हुने छ । सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

र्‍यालीमा सहभागीहरु परम्परागत नेवारी पोशाकमा सजिएका छन् र धिमे बाजा सहितका झाँकी प्रदर्शन गरेका छन् । नयाँ धान भित्राएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउने गर्दछन् । मंसिर शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई ‘योमरी पुन्हि’ पनि भनिन्छ । योमरीलाई नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा मनाउने संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन् ।नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि नेवार समुदायमा छ ।