२०८१ पुष ८ , सोमवार

गणपूरक सङ्ख्या नपुगेपछि अर्थसमिति बैठक स्थगित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गणपूरक सङ्ख्या नपुगेपछि अर्थ समितिको आजको बैठक स्थगित भएको छ । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्न समितिको बैठक डाकिएको थियो । तर गणपूरक सङ्ख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि आजको बैठक स्थगित भएको सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा नियमावली २०७९ ले संसदीय समितिको गणपूरक सङ्ख्या समितिको तत्काल कायम रहेको सदस्य सङ्ख्याको ५१ प्रतिशत हुनुपर्ने व्यवस्था राखेको छ । समितिको बैठकमा गणपूरक सङ्ख्या नपुगेसम्म समितिको सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को कुनै समय वा दिनसम्मको लागि बैठक स्थगित गर्नसक्ने व्यवस्था नियमावलीमा छ ।

अर्थ समितिमा तत्काल कायम सदस्यको सङ्ख्या २३ रहेकोमा आजको बैठकमा सभापति चालिसेसहित आठ जनाको मात्रै उपस्थिति थियो । सुरक्षित कारोबार विधेयकमाथि छलफलका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि बोलाइएको थियो । तर अर्थमन्त्री पौडेल पनि बैठकमा उपस्थित हुनुभएन ।  रासस