२०८१ पुष ८ , सोमवार

मिनबहादुर गुरुङले एमालेलाई जग्गा दिएको विरूद्धको रिट सर्वोच्चले गर्‍यो खारेज

Suprime Court

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेलाई भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरूङले पार्टी कार्यालय बनाउन दिएको जग्गा दानविरूद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।सोमबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले उक्त रिट खारेज गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिए।

भ्रष्टाचार र सरकारी कागजात कीर्ते गरेको आरोप लागेका व्यापारी गुरूङबाट एमालेले चन्दास्वरूप दान लिने गरी गरेको निर्णय बदर गर्न माग गर्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दिएका थिए।सुरूमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो। प्रशासनको निर्णयविरूद्ध बस्नेतले कात्तिक २ गते इजलासमा निवेदन दिएका थिए।

गत असोज २५ गते प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका वडा नम्बर २, मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका थिए।भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरूङ र सावित्री गुरूङले एमालेलाई दान गरेको १० रोपनी १४ आना जग्गामा पार्टी भवन बन्न लागेको हो।