२०८१ पुष २६ , शुक्रवार

त्रिविको जग्गा र सम्पत्ति खोजबिन आयोगले प्रधानमन्त्रीलाई बुझायो अध्ययन प्रतिवेदन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको जग्गा र सम्पत्ति खोजबिन आयोगले कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्ययन प्रतिवेदन बुझाएको छ।सरकारले त्रिविको जग्गा र सम्पत्ति खोजबिन अध्ययन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेको थियो।

उक्त आयोगले कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीलाई मंगलबार भेटेर अध्ययन प्रतिवेदन बुझाएको हो।आयोगले अध्ययन प्रतिवेदन बुझाउने कार्यक्रममा सहकुलपतिसमेत रहेकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई पनि उपस्थित थिइन्।आयोगका अध्यक्ष त्रिताल बिरामी भएकोले उपस्थित हुन सकेका थिएनन्।

आयोगबाट प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीसमेत रहेका कुलपति ओलीले त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले कार्यान्वयनमा लैजाने बताए।

‘त्रिविको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन्,’ प्रधानमन्त्री ओलीले भने, ‘आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने छ।’