२०८१ पुष ७ , आइतवार

दुर्गा प्रसाईंको रिट खारेज, बैंकलाई ऋण असुलीको बाटो खुल्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बैंक ऋण नतिर्ने अभियान सञ्चालन गरेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ । यससँगै उनले बैंकबाट लिएको ऋण असुलीको बाटो खुलेको छ ।बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए ।

मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरेको हो ।कुमारी बैंकको विर्तामोड शाखासहित चार वटा बैंकविरुद्ध प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज भएपछि अब बैंकलाई ऋण असुल गर्ने बाटो खुलेको छ ।

प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि चार वटा बैंकबाट ऋण लिएका थिए । पछिल्लो दुई वर्षयता उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने र मिनाहा हुने अभिव्यक्ति दिँदै आएका छन् ।प्रसाईंको अभियानका कारण ग्रामिण क्षेत्रमा काम गरिरहेका लघुवित्त वित्तीय संस्थाको लगानी र ऋण असुली प्रभावित हुँदै आएको थियो । वित्तिय संस्थाविरुद्ध गतिविधि गर्नका लागि प्रसाईंले समूह नै तयार गरेका थिए । आफ्नै अस्पतालका लागि लिएको ऋणको असुली रोक्नका लागि भने उनी अदालत पुगेका थिए ।

उच्च अदालत विराटनगर, इलाम इजलासका सूचना अधिकारी युगेनकाजी बान्तवाका अनुसार मंगलबार रिट खारेज भएको हो । मेडिकल कलेज सञ्चालनको तयारीमा रहेका प्रसाईं भारतीय गुण्डा नाइके लरेन्स विस्नोयीको नाममा नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्तिसँग कनेक्सन देखिएको आरोपमा प्रहरी हिरासतमा छन् ।