चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
Posted on:
सुनाखरी न्युज/ काठमाडौं ।
जिल्लाको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुर नगर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन गर्न आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । लायन्स अन्तर्राष्ट्रिय क्लब र चन्द्रपुर नगरपालिकाको साझेदारीमा अस्पताललाई रू एक करोड ६० लाख मूल्य बराबरको विभिन्न उपकरण हस्तान्तरण गरिएको हो ।पूर्वपश्चिम महेन्द्र राजमार्ग नजिक रहेको चन्द्रनिगाहपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालनको लागि लायन्स अन्तर्राष्ट्रिय क्लब र चन्द्रपुर नगरपालिकाको साझेदारीमा चन्द्रनिगाहपुर अस्पताललाई ट्रमा सेन्टर सञ्चालनको लागि अतिआवश्यक सामग्री हस्तान्तरण गरिएको थियो । ‘एनेस्थेसिया’, ‘भेन्टिलेटर’, ‘ओटी टेबल सेट’, ‘ओटी लाइट सेट’, ‘आइसियु बेड’सहित ‘सेटअफ’ लगायत ट्रमाका लागि आवश्यक पर्ने दुई सयभन्दा बढी उपकरण अस्पतालमा सहयोग स्वरूप प्राप्त भएको अस्पतालका प्रमुख डा अभिनन्दन श्रीवास्तवले जानकारी दिनुभयो ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएको जिल्लाको चन्द्रनिगाहपुरमा ट्रमा सेन्टर सञ्चालनमा आएपछि प्राकृतिक प्रकोप, दुर्घटनामा परेका बिरामीलाई उपचारमा सहज हुने चन्द्रपुरका नगरप्रमुख सञ्जयकुमार काफ्लेले बताउनुभयो । लायन्स अन्तर्राष्ट्रिय क्लबले करिब रू एक करोड ६० लाख मूल्यका सामग्री हस्तान्तरण गरेपछि अस्पतालले कार्यविधि बनाएर सञ्चालनमा ल्याउने उहाँले उल्लेख गर्नुभयो ।सडक दुर्घटना, प्राकृतिक विपद्ले मानवको अकालमा ज्यान नजाओस् भन्ने उद्देश्यले अस्पतालमा ट्रमा सेन्टर सञ्चालनमा ल्याउन लागिएको नगरप्रमुख काफ्लेले बताउनुभयो । लायन्स अन्तर्राष्ट्रियका प्रमुख बालकृष्ण बुर्लाकोटीले चन्द्रपुर राजमार्गसँग जोडिएकाले दुर्घटनाको जोखिम उच्च रहने भन्दै यहाँ ट्रमा सेन्टर सञ्चालन भएसँगै घाइतेले तत्काल उपचार पाउने विश्वास व्यक्त गर्नुभयो । लायन्सले विभिन्न परियोजनामार्फत शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो ।
उपचारका लागि आवश्यक उपकरण पर्याप्त मात्रामा मौज्दात हुन थालेपछि बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । निजी अस्पतालमा पाउने सुविधा सरकारी अस्पतालमा निःशुल्क पाउन थालेपछि उपचारमा सहज भएको स्थानीय अर्जुन मैनालीले बताउनुभयो । दक्ष स्वास्थ्यकर्मी, बिमा, सहज र सुलभ उपचार स्थानीयस्तरमा पाउन थालेपछि अस्पतालमा स्थानीयको घुइँचो हुन थालेको छ । स्वास्थ्य बिमा गराएकालाई सम्पूर्ण किसिमको औषधि समयमा उपलब्ध गराउनुपर्नेमा स्थानीय ट¬ङ्क देवकोटाले सुझाव दिनुभयो । सम्पुर्ण किसिमका बिरामीको प्रभावकारी, सहज र सुलभ उपचार गर्ने उद्देश्यले सरोकार भएका निकाय तथा संस्थाले विभिन्न उपकरण सहयोग गरिरहेका अस्पतालका प्रमुख डा श्रीवास्तवले बताउनुभयो । मङ्गलबार स्वास्थ्य मन्त्रालयको सहयोगमा एक थान ‘फोटो थेरापी’ र ‘इसिजी’ उपकरण सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
एक महिनासम्मका बच्चाहरूको उपचार गर्न फोटो थेरापी उपकरण आवश्यक रहेकामा स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको डा श्रीवास्तवले बताउनुभयो । यसअघि उपकरण नहँुदा बच्चाहरूको उपचार गर्न निजी अस्पतालमा पठाउनु परेकामा अब यो समस्या अन्त्य हुने उहाँले उल्लेख गर्नुभयो । उक्त उपकरण यथाशीघ्र सञ्चालन गरिने छ । अस्पतालले आकस्मिक सेवा, प्रसूति सेवा, बरिङ्ग (ओपिडी), प्रयोगशाला, एक्सरे, खोप, क्षयरोग, निःशुल्क फार्मेसी, बिमा सेवा सञ्चालन गर्दै आएको छ । यसअघि दैनिक तीन सयसम्म बिरामी आउने गरेकामा अस्पतालमा सम्पूर्ण किसिमका उपकरणको व्यवस्था भएपछि अहिले दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी आउने गरेका छन् । सर्पदंशको उपचार गर्न जिल्लाभरिका बिरामी चन्द्रनिगाहपुर अस्पतालमा आउने गर्दछन् । रासस