सुनाखरी न्युज/ काठमाडौं ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राईसहित १९ जनाविरुद्ध आजै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।यद्यपि, सहकारी ठगी प्रकरणमै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध आइतबारमात्रै मुद्दा दर्ता हुने भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध मुुद्दा दर्ता लागिएको हो । अहिले प्रहरी हिरासतमा रहेका रवि, छविसहित जीवीका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने भएको छ ।
‘थप जाहेरी परेकाले पहिलो चरणमा पक्राउ परेका जीवीसहित १९ जनाविरुद्ध मुद्दा आजै दर्ता गर्दैछौं भने रविसहितको हकमा आइतबार हुने छ’, जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका न्यायाधिवक्ता कमला काफ्लेले अनलाइनखबरसँग भनिन् ।बचतकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले गत साल २४ भदौमा पक्राउ पुर्जी जारी गरेको थियो ।
सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन् ।