सुनाखरी न्युज/ काठमाडौँ ।
नयाँ स्टक एक्सचेञ्जको अनुमतिपत्र दिने प्रक्रिया अघि बढाउने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ । नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य चिन्तामणि शिवाकोटी नेतृत्वको समितिले दिएको प्रतिवेदनअनुसार नयाँ स्टक एक्सचेञ्जको अनुमति प्रक्रिया अघि बढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
अघिल्लो सरकारले ९ माघ २०८० मा शिवाकोटीको नेतृत्वमा नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहेरनरहेको अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको थियो । सो समितिले हालको नेपाल स्टक एक्सचेञ्जलाई पुनःसंरचना गरी सञ्चालन गर्ने तथा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने दुवै विकल्प खुला राखेर प्रतिवेदन पेश गरेको थियो ।
समितिले १३ वैशाखमा तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई बुझाएको प्रतिवेदनमा निजी क्षेत्रलाई एउटा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन सकिने वा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी थप आधुनिक र प्रविधियुक्त बनाउनुपर्ने सिफारिस गरिएको थियो । दुवै काम सँगसँगै अघि बढाउन पनि सकिने प्रतिवेदनमा उल्लेख छ ।
नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न दिइँदा प्रतिस्पर्धा हुने, सेयर बजार आधुनिक र नयाँ प्रविधियुक्त हुनेजस्ता विषय प्रतिवेदनमा समेटिएको छ । साथै नेप्से पुनःसंरचनाका लागि विदेशी रणनीतिक साझेदार भित्र्याउन सकिने, सरकारको केही सेयर स्वामित्व कायम गरी विभिन्न संघसंस्था तथा निजी क्षेत्रको लगानी थप्न सकिने सुझाव दिइएको छ ।