२०८१ पुष २६ , शुक्रवार

रास्वपाका सभापति लामिछाने विरूद्ध कास्की अदालतमा मुद्दा दर्ता

rabi

सुनाखरी न्युज/ काठमाडौं ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायत विरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।आइतबार सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गरेको हो।जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माका अनुसार साढे ४ सय पेजको अभियोगपत्र दर्ता भएको छ। अहिले प्रमाणहरू रूजु गर्ने काम भइरहेको शर्माले जानकारी दिइन्।

कति जना प्रतिवादी, कति बिगो रकम र कुन-कुन कसुर अनुसार दर्ता भएको हो भन्नेबारे दर्ताको प्रक्रिया सकिएपछि जानकारी गराइने उनले बताइन्।सरकारी वकिल कार्यालयले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर हिनामिना गरेको आरोपमा रास्वपाका सभापति लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, जिबी राईका साझेदार रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङ लगायतविरूद्ध मुद्दा दर्ता गर्न लागेको हो।

यसअघि शुक्रबार सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना आरोपमा जिबी राईसहित १९ जनाविरूद्ध थप अभियोग दर्ता गरेको थियो।उनीविरूद्ध १० वर्षसम्म कैद र डेढ अर्ब असुल गर्न माग गरेको थियो। त्यतिबेला राईविरूद्ध मुद्दा दर्ता गरिएको भए पनि लामिछानेविरूद्ध भने मुद्दा दर्ता गरेको थिएन।