सुनाखरी न्युज/ काठमाडौं ।
शारीरिक र मानसिक स्वास्थ्यका लागि जीवनशैलीमा परिवर्तन आवश्यक रहेकामा चिकित्सकहरुले जोडदिनुभएको छ । विश्व ध्यान दिवसका अवसरमा कैलाशकुट सामाजिक अभियानले शनिबार काठमाडौँको हाँडीगाउँमा आयोजना गरेको स्वस्थ जीनशैली र तनाव व्यवस्थापनसम्बन्धी चेतना अभिवृद्धि कार्यक्रमका वक्ताहरुले तनाव व्यवस्थापनमा ध्यान दिन आग्रह गरे । शिक्षण अस्पताल महाराजगञ्जका मनोचिकित्सा विभागका प्रमुख डा सरोजप्रसाद ओझाले स्वस्थ जीवनका लागि योग र ध्यानलाई स्वभावका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । स्वस्थ जीवनशैली भनेको आहार, विश्राम र व्यायाम भएको उल्लेख गर्दै उहाँले शरीरलाई सक्रिय र मनलाई शान्त राख्नुपर्ने बताउनुभयो । डा ओझाले तनावलाई दिमागमा राखिराख्दा दीर्घरोग उब्जने भएकाले तनावको छिटो र सहज व्यवस्थान आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मनोचिकित्सक डा सरोज शाक्यले शरीर र मनमा नकारात्मक प्रभाव पार्ने विषयमा संयम अपनाउन सुझाव दिँदै तनाव व्यवस्थापनले दीर्घरोगबाट बचाउने बताउनुभयो । उहाँले तनावको व्यवस्थापन र स्वस्थ जीवनशैलीले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने बताउनुभयो ।काठमाडौँ महानगरपालिका–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिले जीवनलाई सार्थक बनाउन स्वास्थ महत्त्वपूर्ण पक्ष भएकाले वडामा स्वास्थ प्रवर्द्धन केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले स्वास्थ, शिक्षा र वडाको संस्कृति एवं सम्पदाको संरक्षणमा विशेष ध्यान दिइने उल्लेख गर्नुभयो ।
कैलाशकुट सामाजिक अभियानका अध्यक्ष महेशकुमार श्रेष्ठले रोग लागेपछि उपचार गर्नेभन्दा पनि रोगै लाग्न नदिनका लागि स्वास्थसम्बन्धी चेतनामूलक कार्यक्रममा जोड दिइएको बताउनुभयो । अभियानले संस्कृति, सम्पदा र स्वास्थ प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ । रासस