२०८१ पुष ८ , सोमवार

थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

यहाँको बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको हुनुभयो । मलेसियामा १२ वर्ष बिताउनुभएका ढकालले गाउँमै पशुपालन सुरु गर्नुभएको चार वर्ष भएको छ ।सुरुमा चारवटा गाई र दुईवटा भैँसी किनेर बलेवा एकीकृत पशुपालन फार्म दर्ता गर्नुभएका उहाँले सुरुका दुई वर्षसम्म पशुलाई दाना, चापट र घाँससमेत ऋण खोजेर किन्नुभयो । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घसँग जोडिएपछि भने उहाँले व्यावसायिक अप्ठ्यारोको समाधानसँगै आम्दानी गर्न थाल्नुभएको छ ।

उहाँको फार्ममा हाल पाँचवटा भैँसी र चारवटा गाई छन् । दैनिक ६० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध गाउँको सहकारीमार्फत बागलुङ दुग्ध उत्पादक सहकारीलाई बेच्ने गर्नुभएको छ । ढकालको फार्ममा हुर्कँदै गरेका चारवटा पाडी छन् ।दूध बेचेर मासिक रु एक लाख ३० हजार बढी आम्दानी गर्न थालेको उहाँले बताउनुभयो । गत वर्ष मात्र रु १७ लाख बढी आम्दानी भएको उहाँले जानकारी दिनुभयो । दूधमात्र नभएर ढकालको फार्मबाट मलमूत्र पनि बिक्री हुने गरेको छ । प्रतिट्याक्टर पाँच हजारका दरले मल बिक्री गर्ने गर्नुभएको छ । राम्रो स्याहारसुसार गरेमा थोरै पशुपालनबाट पनि मनग्गे आम्दानी लिन सकिने उहाँको अनुभव छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा घाँस लगाउने, पशु स्याहार गर्ने तालिम लिएर उहाँले दुई रोपनीमा घाँस लगाउनुभएको छ । प्राक्टिकल एक्सन नेपालको सहयोगमा सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी) ले अनुदानमा दिएको पाँच सय लिटरको तीन सोलर वाटर हिटरले समय र पैसाको बचत भएको उहाँको भनाइ छ ।पशुपालनमा श्रीमती दुर्गादेवीले मुकुन्दलाई सहयोग गर्दै आउनुभएको छ । परिवारको साथसँगै उत्पादनले उचित मूल्य प्राप्त गर्न थालेपछि व्यावसायिक पशुपालन सम्भव भएको उहाँ बताउनुहुन्छ ।  रासस