देशको खेल इतिहासमै पहिलोपटक भएको नेपाल क्रिकेट लिग (एनपिएल) को भव्यताले आम खेल क्षेत्रमा एक प्रकारको उत्साह र उमङ्ग छाएको छ । यो नेपालको सबैभन्दा धेरै धनराशि लगानी गरिएको पहिलो घरेलु प्रतियोगिता हो । यसले देशीय मात्रै नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चा बटुल्न सफल भयो । यसले नेपाली खेल र खेलाडीको अन्तर्राष्ट्रिय परिचय उचाइमा पु¥याएको मात्रै छैन, बरु खेल क्षेत्रको विकासमा नयाँ आयाम पनि थपिदिएको छ ।
जसरी नेपाली खेलाडीको अन्तर्राष्ट्रिय परिचय उँचो भएको छ, त्यो भन्दा अग्लो नेपाली क्रिकेटको परिचय अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूले पनि बनाइदिएका छन् । एनपिएलमा सहभागी आठ फ्रेन्चाइज समूहका लागि विभिन्न देशबाट आएका दर्जन बढी अन्तर्राष्ट्रिय खेलाडीले नेपाल र नेपाली खेलकुदलाई विश्व मञ्चमा पहिचान पु¥याउन सहयोग पुगेको छ । विदेशी खेलाडी नेपालको घरेलु प्रतियोगितामा भाग लिन आउँदा नेपाली खेलाडीमा उत्साह मात्रै सञ्चार भएको छैन, बरु उनीहरूले नेपालको प्राकृतिक र नेपाली भूगोलको समेत परिचय विश्वमाझ पु¥याएका छन् । यसरी हेर्दा क्रिकेटको यो घरेलु महाकुम्भले खेलमात्रै नभएर आर्थिक, सामाजिक र पर्टकीय हिसाबले पनि देशलाई निकै फाइदा पुगेको छ र सँगसँगै क्रिकेटको यो महामेलाले खेलको मनोरञ्जन मात्रै नभएर देशको अर्थतन्त्रलाई एउटा दिगो दिशा पनि दिएको छ । यो सँगै एनपिएलएले सामाजिक एकता तथा साम्प्रदायिक सद्भावको सुगन्ध पनि छरेको छ ।
नेपालमा धेरै प्रकारका खेलहरू छन् । ती सबका आआफ्ना महत्व, मान्यता र इतिहास छन् । तिनले हाम्रो समाजलाई भावना र आत्मीयरुपमा पनि जोडिआएका छन् । कुनै कुनै खेलहरू यस्ता पनि छन्, जसले समुदायको पहिचान बोकेका हुन्छन्, इतिहास बोकेका हुन्छन् । ती आफैँमा हाम्रा समाजिक र सांस्कृतिक पहिचान पनि बनेका छन् । कतिपय खेलले नेपाललाई अन्तर्राष्ट्रियरुपमा चिनाइरहेका छन् । त्यस्तै पछिल्लो समय नेपाललाई चिनाउने एउटा आयाम बनेको छ, क्रिकेट पनि ।
क्रिकेटको विश्व इतिहास सदियांै लामो छ । १६ औं शताब्दीको शुरुआततिर बाहिर खेलिन थालेको यो खेल नेपालमा भने १९औं शताब्दीतिरमात्रै शुरुआत भएको देखिन्छ । त्यो बेलाको राजनीतिक र सामाजिक व्यवस्था अनि अवस्थाका कारण यो खेल कुनै बेला दरबारका पर्खालभित्र मात्रै सीमित थियो । अर्थात् शासकहरूले आफ्नो परिवारको मनोरञ्जनका लागि मात्रै यो खेल खेल्न शुरु गरेका थिए । शासकीय दायराबाट विस्तारै गल्ली र मैदानसम्म आइपुगेको क्रिकेटले अहिले चौतर्फी उत्साह थपिरहेको छ । साँघुरा गल्ली, खेलबारी र अप्ठ्यारा मैदानबाट उठेर नेपाली क्रिकेट अहिले विश्वस्तरीय प्रतिस्पर्धासम्म पुगिसकेको इतिहास छ । यो खेलको साँघुरो इतिहास अहिले यो निकै विराट भइसकेको छ र अझ उज्यालो भविष्यको यात्रामा अघि बढिरहेको छ । १६ औं शताब्दीतिर युरोपबाट सुरु भएको यो खेल अब विश्वभरि फैलिइसकेको छ । र, यो खेल अब मात्रै मनोरञ्जनका लागि मात्रै रहेन, बरु क्रिकेट अब कैयौ राष्ट्रका लागि अर्थतन्त्रको एउटा हिस्सा बनिसकेको छ ।
नेपालमा कुनै बेला बेलायततिरको सिको गरेर राणाहरूले आफ्ना सन्तान र परिवारबीच मनोरञ्जनका लागि पर्खालभित्र शुरु गरेको क्रिकेट अहिले हरेक नयाँ जन्मिने बालकको सपना बनिसकेको छ । त्यसैमा उनीहरूले भविष्य देखिरहेका छन् र खोजिरहेका छन् । नेपालमा राणा शासनकालदेखि नै क्रिकेटको शुरुआत भएको देखिन्छ । २००४ सालमै नेपालमा क्रिकेट सङ्घ गठन भएको थियो तर त्यसले २०५२ सालमा आएर मात्रै अन्तर्राष्ट्रिय क्रिकेट सङ्घबाट मान्यता पायो । यद्यपि, दरबारका पर्खाल नाघेर आम नागरिकस्तरमा क्रिकेट खेल २००६ सालदेखि नै खेल्न शुरु भएको इतिहासहरू भेटिन्छन् ।
सुधार र आधुनिकतातिर झुकाव राख्ने कतिपय राणा शासकहरूले जनस्तरमै त्यो बेलादेखि क्रिकेट खेलाउन शुरु गरेका थिए । १९१९तिर दरबार हाइस्कुलमा क्रिकेट खेलाइएको थियो तर खुल्लारुपमा २०३७ सालतिर मात्रै राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता आयोजना भयो । यस प्रतियोगितामा अञ्चलस्तरीय समूहहरू सहभागी भएका थिए । त्यसपछि विस्तारै गति लिन थालेको क्रिकेटले २०४६ साल तथा २०६३ सालपछि व्यावसायिकरुपमा पनि गति लिन थाल्यो । यसरी शासकको दरबारिया पर्खाल अनि साँघुरा गल्ली र घाँसे मैदानहरू हुँदै अहिले नेपाली क्रिकेट अब अन्तर्राष्ट्रियस्तरसम्म पुगिसकेको छ । नेपाल अब एकदिवसीय क्रिकेटको मान्यता प्राप्त राष्ट्र मात्रै होइन, विश्वकपको प्रतिस्पर्धासम्म पुगिसकेको देश बन्न सफल भएको छ । पुरुष क्रिकेट मात्रै नभएर नेपालको महिला क्रिकेट पनि अहिले विश्वस्तरीय प्रतिष्पर्धामा भाग लिनसक्ने भइसकेको छ ।
खासगरी अहिले क्रिकेट खेल एशियाली राष्ट्रहरूको एउटा ढुकढुकीका रुपमा स्थापित भइरहेको छ । छिमेकी भारतमा त यो खेल हरेक नागरिकको आस्थाजस्तै बनिसकेको छ । यहाँ क्रिकेटलाई मनोरञ्जन, आर्थिकोपार्जन अनि व्यवसाय मात्रै होइन, यसलाई त धेरै भारतीयले आफ्नो राष्ट्रियताको मानकसमेत बनाइसकेका छन् । अर्थतन्त्रका हिसाबले हेर्ने हो भने त विश्व क्रिकेटको आधाभन्दा बढी हिस्सा भारतकै देखिन्छ । यसमा लगानी गर्नेहरूको तँछाडमछाँड मात्रै होइन, त्यसले गर्दा धेरै खेलाडीको जीवनस्तर पनि उकासिएको छ । अहिले भारतमा ससाना प्रतियोगिताहरू मात्रै होइन, टोलटोलका क्रिकेट खेलाडीहरूको समेत प्रमुख आर्थिक र जीवनको आधार यही खेल बनेको छ र विस्तारै नेपालमा पनि अब हरेक खेलाडीले क्रिकेट खेलेरै जीवन धान्ने आधारहरू तयार भइरहेका छन् । भर्खरै सम्पन्न एनपिएलको पहिलो संस्करण त्यसकै एउटा जीवन्त उदाहरण हो । एनपिएलको पहिलो संस्करणमै देखिएको लगानीको उत्साहले नेपालको अर्थतन्त्रलाई चलायमान बनाएको छ । यसको शुरुआती भव्यताले एकातिर क्रिकेटमाथि लगानी सम्भावनाका ढोकाहरू खुलेका छन् भने यसबाट अरु व्यापार व्यवसायमा पनि फाइदा नै पुगेको छ । नयाँ पुस्ताका खेलाडीहरूलाई आकर्षित गर्न मदत गरेको छ भने स्थापित खेलाडीहरूलाई पनि अब भविष्यका लागि देशै छोड्नुपर्ने बाध्यता हट्दैछ भन्ने सन्देश दिएको छ । खेल खेलेरै नेपालमा पनि आरामदायी जीवन बाँच्न सकिन्छ भन्ने एनपिएलले छोडेको छ ।
हरेक खेल जति व्यक्ति वा उसको व्यक्तिगत स्वास्थ्य तथा मनोरञ्जनका लागि आवश्यक छ, त्यत्तिकै राष्ट्र र राष्ट्रियताका लागि पनि खेलक्षेत्र सबल हुन जरुरी छ । तर हाम्रो राज्यको नीतिगत तहमै खेल क्षेत्रलाई उतिसारो प्राथमिकता दिएको देखिँदैन । त्यसमा पनि खेल अनि खेलाडीको वृत्तिविकासका लागि गठन भएका सङ्घसंस्थाहरूमै राजनीति घुस्दा अझ तहसनहस हुँदै गइरहेको अवस्था छ । टोलका गल्लीहरू हुँदै अन्तर्राष्ट्रिय मैदानसम्म पुगिसकेको नेपाली क्रिकेटको अवस्था पनि त्यो भन्दा फरक छैन । क्रिकेटमात्रै होइन, अहिलेसम्म जति पनि खेलमा नेपालको नाम गाँसिएको छ, त्यो सब मात्रै खेलाडीको आफ्नो मेहनत र परिश्रमबाट मात्रै सम्भव भएको देखिन्छ । राज्यले न खेल क्षेत्रमा लगानी गरेको छ न खेलाडीलाई प्रोत्साहन गर्न सकेको छ ।
अन्तर्राष्ट्रियस्तरसम्म पुगिसकेको क्रिकेटको हकमा पनि राज्यको यही र यस्तै उदासिनता छ । अहिलेसम्म नेपालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट मैदानसमेत छैन । अन्तर्राष्ट्रिय क्रिकेट संघको आधिकारिक मान्यता पाइसकेपछि २०५५ सालमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको थियो । त्यही मौकामा कीर्तिपुर र पुल्चोकमा क्रिकेट मैदानहरू बनेका थिए । यद्यपि, पहिलोपल्ट भएको त्यो अन्तर्राष्ट्रियस्तरको एसिसी ट्रफीमा नेपाल सबै खेलहरूमा पराजित भयो । तथापि, त्यसबाट नेपालमा क्रिकेटको व्यावसायिक यात्राको शुरुआत भएको मानिन्छ । त्यो बेला बनेको क्रिकेट मैदान नेपालमा ठूला प्रतियोगिताहरू खेल्ने र खेलाउने एकमात्रै रङ्गशाला हो । यति हुँदासम्म पनि राज्यले रंगशालालगायत खेल क्षेत्रको भौतिक बिकासमा खासै उदार भएको देखिंदैन । ठाउँठाउँमा मैदानहरू बन्न शुरु भए पनि राज्यले त्यसको अपनत्व नलिँदा ती लथिलिङ्ग अवस्थामा छन् ।
खेल क्षेत्रको यो भौतिक दूरावस्थासँगै कैयौं खेलाडीको पनि त्यस्तै अवस्था छ । एनपिएलकै बेला थाहा भयो विश्वभरि थुप्रै त्यस्ता राम्रा नेपाली खेलाडीहरू पनि छन् । यही प्रतियोगिता खेल्नका लागि विश्वका ठूल्ठूला क्लबहरूमा खेल्ने नेपाली मूलका खेलाडीहरू पनि एनपिएलमा सहभागी भए । उनीहरूलाई नेपालमै बस्ने वातावरण बनाउनु राज्यको दायित्व हो । त्यस्तै मैदानहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्तरोन्नतिले अरु पनि थुप्रै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरू यहाँ खेलाउन सकिन्छ भन्ने सन्देश पनि एनपिएलले छोडेको छ । एनपिएलको पहिलो संस्करणमा खेलाडी, खेल क्षेत्र वा आर्थिक तथा सामाजिक क्षेत्रमा जुनखालको उत्साह, उमङ्ग र गतिशीलता देखिएको छ त्यसलाई राज्यले अवसरका रुपमा लिनुपर्छ । सबैभन्दा पहिला खेल क्षेत्रमा झाँगिएको राजनीतिको अन्त्य हुनुपर्छ । अनि राज्यले नीतिगत तहमै खेल क्षेत्रको भौतिक विकास र खेलाडीको व्यक्तिगत जीवनका लागि निर्णायक भूमिका खेल्नुपर्छ । रासस