२०८१ पुष २६ , शुक्रवार

एनओसी निर्वाचनः विवाद कायमै, अनलाइनबाट मनोनयन

Nepal_Olympic_Commitee_office

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन प्रकिया थप विवादमा फसेको छ ।

अदालतले निर्वाचनका विषयमा सोमबार कारण देखाउ आदेश जारी गरेपनि एनओसी नेतृत्वले भने जबरजस्ती चुनावी प्रक्रिया अघि बढाएपछि विवादले नयाँ रुप लिएको छ । यसअघि नै विवादास्पद बनिसकेको निर्वाचन प्रक्रियामा सोमबार बिहान प्रहरीले नै हस्तक्षेप गर्दा थप विवाद बनेको हो ।

विवादास्पद बनिरहेको एनओसी निर्वाचनका लागि सोमबार उम्मेदवारी मनोनयनको कार्यक्रम तोकिएको थियो ।

 

नेपाल ओलम्पिक कमिटी नेतृत्वले एनओसीको आगामी चार वर्षे कार्यकालको लागि यही १३ पुसका लागि निर्वाचन गर्ने गरी मिति तय गरेको थियो । त्यसमा लागि सोमबारसम्म मनोनयन दर्ता गर्ने मिति तोकिएको थियो ।

नेपाल रग्वी संघ सहित चार खेल संघले दायर गरेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले निर्वाचनको विषयमा कारण देखाउ आदेश जारी गरेको हो । यस्तै अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा झिकाउने समेत आदेश दिएको छ ।