२०८१ पुष १० , बुधवार

बाढीपहिरोले काभ्रेपलाञ्चोकका तीन हजार तीन सय निजी आवासमा क्षति

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भीषण बाढीपहिरो गएको करिब तीन महिनापछि जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयले जिल्लामा भएका निजी आवासको क्षति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार जिल्लाका तीन हजार तीन सय ३८ निजी आवासमा क्षति पुगको छ ।कूल क्षति पुगेको निजी आवासमध्ये दुई हजार पाँच सय ७७ घर पूर्णरुपमा क्षति भएका छन् । सात सय ५१ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरि ६८ घरपरिवार स्थानान्तरणका लागि सिफारिस भएका छन् । कार्यालय प्रमुख भूमिनन्द ढकालका अनुसार १२ सरकारी भवनमा पूर्णरुपमा क्षति पुगेको छ भने एक सय ३५ वटामा आंशिक क्षति पुगेको छ ।

आठ सार्वजनिक भवन पूर्णक्षति भएका छन् भने एक सय ३४ वटामा आंशिक क्षति पुगेको जनाइएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये पनौती नगरपालिका तथा रोशी र बेथानचोक गाउँपालिका बाढीपहिरोबाट बढी प्रभावित भएका छन् । घर पूर्णरुपमा क्षति भएकामध्ये बेथानचोक गाउँपालिकामा छ सय २९, नमोबुद्ध नगरमा चार सय ८९, रोशीमा तीन सय ५० र तेमालमा चार सय ३९ घर छन् ।त्यसैगरी चौरीदेउराली गाउँपालिकामा एक सय ३४, भुम्लुमा एक सय २२, धुलिखेल नगरमा ८०, पाँचखाल नगरमा ७६, पनौती नगरमा ५९, बनेपा नगरमा ४७, मण्डनदेउपुर नगरपालिकामा ८४ तथा खानीखोला गाउँपालिकामा ४५ र महाभारतमा २३ घर पूर्णरुपमा क्षति भएको कार्यालयले जनाएको छ । जिल्लामा स्थानान्तरण गर्नुपर्ने घरपरिवारमध्ये चौरीदेउरालीमा २३, मण्डनदेउपुरमा १३, पाँचखालमा १३, रोशीमा नौ, खानिखोलामा र बेथान्चोकमा ५/५ घरपरिवार छन् ।

बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ७९ जनाको मृत्यु भएको थियो भने ७८ घाइते तथा छ जना बेपत्ता छन् । जिल्लाका स्थानीय तहबाट प्राप्त क्षतिको विविरण अनुसार पुनःनिर्माण तथा पुनःस्थापनाका लागि बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमानसहितको विवरण पठाइएको कार्यालय प्रमुख ढकालले बताउनुभयो ।उहाँका अनुसार २० वटा सरकारी तथा सार्वजनिक भवन पुनःनिर्माण गर्नुपर्ने देखिएको छ्र । “केही स्थानमा बस्ती तहसनहस भएकाले सुरक्षित क्षेत्रमा एकीकृत बस्ती विकास गर्नुपर्ने देखिएको छ, सरोकारवाला निकायलाई यसैअनुसार सुझाव प्रस्तुत गरेका छौँ”, ढकालले भन्नुभयो । रासस