२०८१ पुष १० , बुधवार

अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सुस्तमनस्थिति (बौद्धिक अपाङ्गता) भएका बालबालिकाका लागि सञ्चालित यहाँस्थित बालविद्या मन्दिरमा यसक्षेत्रका सुस्तमनस्थिति रहेका बालबालिकाले सेवा लिइरहेका छन् । सो विद्यालयका अध्यक्ष समेत रहनुभएका लोकनाथ भुसालले विद्यालयमा अध्ययनरत बालबालिकालाई जीवन उपयोगी सीप सिकाउने गर्नुभएको छ । उहाँका अनुसार यो विद्यालय सुस्तमनस्थिति भएका बालबालिकाकै अभिभावक मिलेर स्थापना गरिएको हो ।उहाँले सुस्तमनस्थिति भएका बालबालिकालाई सेवा दिन समस्या भए पनि उनीहरुको भविष्यलाई ध्यानमा राखी काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा सक्नेलाई सीप सिकाइन्छ, नसक्नेलाई जीवन उपयोगी व्यवहार सिकाइन्छ ।”

कमजोर बालबालिकाकालाई खाद्यान्न र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि दिने गरेको अध्यक्ष भुसालले जानकारी दिनुभयो । विसं २०५१ मा स्थापना भएको यस विद्यालय सञ्चालनमा लाग्ने खर्चका लागि अभिभावकहरुले पनि सहयोग गरेका छन् ।बुटवल उपमहानगरपालिकाले हाल वार्षिक रु चार लाख अनुदान दिएको छ । यस विद्यालयमा भर्ना गरेपछि अपाङ्गता भएको १६ वर्षीय छोरामा धेरै सुधार भएको बुटवल उपमहानगरपालिका¬–७ की गङ्गा कुँवरले बताउनुभयो । छोरालाई बालविद्या मन्दिरमा ल्याएपछि आएको परिवर्तनले धेरै खुसी लागेको उहाँ बताउनुहुन्छ ।यस विद्यालयमा भर्ना गरेपछि तिलोत्तमा–२ शङ्करनगरकी खिमा रेग्मी पनि १२ वर्षकी छोरी आकृष्टामा सुधार देखिएको बताउनुहुन्छ । दुई वर्षअघि विद्यालय भर्ना गरिएकी आकृष्टा हाल अरुको साहारामा हिँड्नसक्ने हुनुभएको खिमाले बताउनुभयो ।

गङ्गा र खिमामात्र होइनन् । उहाँहरु जस्ता धेरै अभिभावकहरु यस विद्यालयले प्रदान गरेको सेवा र अध्यापनबाट सन्तुष्ट हुनुहुन्छ । हाल यस विद्यालयमा ८० जना बालबालिका अध्ययनरत छन् । दिवा समयमा ५० जना बालबालिका विद्यालयमा आउँछन् भने ३० जना विद्यालय आउन नसक्नेलाई गृहभेटमार्फत सेवा दिइरहेको छ । बालविद्या मन्दिर विद्यालयका प्रधानाध्यापक मीना भुसालले शारीरिक र बौद्धिक अपाङ्गता भएका बालबालिकालाई नियमित फिजियोथेरापी गराउने गरेको बताउनुभयो ।राष्ट्रिय अपाङ्गता महासङ्घका केन्द्रिय सदस्य एवं अपाङ्गता राष्ट्रिय निर्देशन समितिका सदस्य सावित्रा घिमिरे दिनप्रतिदिन बौद्धिक अपाङ्गता बढ्दो क्रममा रहेकाले सुस्तमनिस्थितिका बालबालिकालाई अभिभावकले पहिचान गर्न जरुरी रहेको बताउनुहुन्छ ।  रासस