सुनाखरी न्युज/ काठमाडौं।
पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार दिउँसोबाट देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।बिहीबार अपराह्न विशेष बुलेटिन जारी गर्दै विभागले पश्चिमी न्यूनचापीय प्रणालीको कारण शुक्रबारको साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको बताएको हो।
शुक्रबार र शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।
साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।उक्त मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको समेत विभागले विशेष सूचनामार्फत् सूचित गरेको छ ।